समाचारमंगलबार, माघ ९, २०६९
एमाओवादीको धम्कीले कोही तर्सिदैनः कोइराला
प्रजातन्त्रका सेनानी स्व श्यामकृष्ण प्रधानको १३ औं दिनको पुण्यतिथिमा नेपाली कांग्रेस चितवनले ९ माघमा आयोजना गरेको शोकसभामा बोल्दै उनले भने, “माओवादीले सर्वसत्तावाद लाद्ने मानसिकता बिर्सन सकेन भने उसको हालत राणा, पञ्चायत र राजतन्त्रको जस्तो हुनेछ ।”
सभापति कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै भने, “अन्य दलहरूलाई नधम्क्याउनुस, सक्ने भए फेरि जङ्गल फर्किएर देखाए हुन्छ ।” उनले साहस भए विगतमा भएको बाह्रबुँदे सम्झौतालाई च्यातेर देखाउन चुनौती दिँदै दम्भका कुरा गरेर कोही नतर्सने स्पष्ट पारे । उनले अगाडि भने, “नेपाली कांग्रेसलाई छक्याएर भुलाएर सर्वसत्तावादी शासन लाद्ने कुचेस्टा नगरे हुन्छ ।”
कोइरालाले एमाओवादीका अध्यक्ष दाहालले धम्की र बिद्रोहका कुरा गर्नु हास्यास्पद भएको बताउँदै शान्ति, स्थायित्व, लोकतन्त्र र समृद्धिका लागि कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताए । उनले वर्तमान सरकारलाई परास्त गर्न र पार्टीका तमाम नेता र कार्यकर्ताको सहयोग भएमा आन्दोलन निर्णायक बिन्दुमा पुगेरै छाड्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँड, कृष्णचन्द्र नेपाली र नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष उदय शम्शेर राणाले वर्तमान सरकारविरुद्ध विपक्षीहरूद्वारा थालिएको आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गरेका थिए ।
रासस
