समाचारबुधबार, माघ १०, २०६९
दैलेखमा माओवादीद्वारा पत्रिका कार्यालयमा आक्रमण, ‘डेकेन्द्रकै हालत’ बनाइदिने चेतावनी
जुलशमा आएका एमाओवादीका कार्यकर्ताहरुले दैनिकको कार्यालयमा ढुंगामुढा गर्नुका साथै कार्यालयका फनिर्चर तोडफोड गरेका छन् भने कागजातहरु च्यातेका छन् । उनीहरुले आगजनीको प्रयास गरे पनि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेपछि आगजनी हुन पाएन । विपक्षीको आक्रमणमा परी ६ जना एमाओवादी कार्यकर्ता घाइते भएको स्थानीयले हिमालखबरलाई बताए ।
त्यसैगरी एमाओवादी कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा पनि आक्रमण गरेका छन् । अराजक हुँदै गएका उनीहरुको आक्रमणबाट केही कर्मचारी घाइते भएको बुझिए पनि संख्या यकिन हुन नसकेको स्थानीय पिताम्बर खड्काले बताए । प्रतिकारमा उत्रेका विपक्षी दलहरुका कार्यकर्तामाथि प्रहरीले अन्धाधुन्ध लाठि प्रहार गर्दा २५ बढी घाइते भएको खड्काले जानकारी दिए । उनले भने, “स्थिति अत्यन्तै तनावपूर्ण छ, कति घाइते भए यकिन भन्न सकिने स्थिति पनि छैन ।”
प्रहरीले एमाओवादी कार्यकर्ताहरुलाई आक्रमण गर्न खुल्ला छुट दिए पनि प्रतिकारमा उत्रेका विपक्षी दलका कार्यकर्ताहरुलाई भने रोकिरहेको स्थानीय टेकबहादुर बिसीले बताए ।
यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराई हेलिकप्टरबाट दैलेख पुगेका छन् । प्रधानमन्त्री भट्टराई सभास्थलसम्म पुग्ने बाटोमा सुतेर पत्रकारहरुले अवरोध गर्न खोजे पनि प्रहरीले उनीहरुलाई बल प्रयोग गरी हटाएको छ ।
