समाचारबिहीबार, माघ ११, २०६९
दैलेखमा विरोध सभा शुरु, अधिकारकर्मीहरु पुग्दै
११ माघ अपरान्ह दलहरुको सभा शुरु हुनुअघि विपक्षी दलहरुसम्बद्ध युवा तथा विद्यार्थी संगठनले सदरमुकाम खलंगाको गणेश चोकमा विरोध प्रदर्शन एवम् सभा गरेका छन् । उनीहरुले १० माघमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका आफूहरुमाथि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले बाहिर जिल्लाबाट कार्यकर्ता बोलाई आक्रमण गराएको र उल्टै ‘गुण्डा’ भनेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
यसैबीच दैलेखमा मानवअधिकारको अवस्था बुझ्न नेपाल मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको टोली आइपुगेको स्थानीय पत्रकार यज्ञ थापाले जानकारी दिए । आयोगको टोली बाहेक अन्य अधिकारकर्मीहरु दैलेख आउनेक्रम शुरु भएको थापाले बताए ।
यता १० माघदेखि शुरु एमाओवादी जिल्ला अधिवेशन दैलेख सदरमुकाममा जारी छ ।
