समाचारबिहीबार, माघ ११, २०६९
भट्टराई द्वन्द्व बढाउन दैलेख पुगेका हुन्: कोइराला
सभापति कोइरालाले दैलेखमा १० माघमा भएको झडपको प्रमुख कारक प्रधानमन्त्री स्वयम् भएको बताएका छन् । शान्तिपूर्ण विरोध गरिरहेका विपक्षी दलहरुलाई बाहिरबाट कार्यकर्ता ओसारेर आक्रमण गराई उत्तेजित बनाएको कोइरालाले आरोप लगाए । उनले सबैको विरोधका बाबजुद पनि दैलेखमा गएर उत्तेजित भाषण गर्नु र विपक्षी दलहरुमाथि आक्रमण गराउनुले प्रधानमन्त्री आफैं मुलुकमा द्वन्द्व बढाउन लागेको पुष्टि भएको बताए ।
कोइरालाको निवास महाराजगञ्जमा १० माघमा विद्यालय शान्ति क्षेत्रबारे शीर्ष नेताहरुको प्रतिबद्धता लिन पुगेको शिक्षा पत्रकार समूहको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले मुलुकमा स्थायी शान्ति, सुशासन र लोकतान्त्रिक शासन पद्धति नबसेसम्म शिक्षा क्षेत्रको अराजकता अन्त्य नहुनेमा जोडदिए । सभापति कोइरालाले प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संविधानको लक्ष्य पूरा गर्न नसकेको तथा नयाँ निर्वाचन हुने वातावरण पनि निर्माण नगरेको आरोप लगाए ।
त्यसअवसरमा उनले नेपाली कांग्रेसका तर्फबाट विद्यालय शान्ति क्षेत्रको अवधाणाप्रति लिखित प्रतिबद्धता जनाउँदै विद्यार्थीहरुले आफ्नो अधिकारका लागि सङ्घर्ष गर्न सक्ने तर त्यसमा राजनीतिक हस्तक्षेप तथा पठनपाठनमा अवरोध हुन नहुने उल्लेख गरेका थिए ।
