समाचारबिहीबार, माघ ११, २०६९
दमनको विरोधमा उत्रन एमालेको निर्देशन
११ माघमा बसेको बैठकले प्रधानमन्त्री डा बाबुराम भट्टराईकै निर्देशनमा दैलेखी जनताको आन्दोलनको विरोधमा प्रतिकार भएको ठहर गर्दै सर्वसत्तावाद र न्यायको निम्ति सञ्चालित सङ्घर्षप्रति उच्च सम्मान पनि प्रकट गरेको छ ।
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तहरूलाई जोगाउने सरकारी प्रयासको विरोधमा उत्रेका आन्दोलनकारीमाथि सुर्खेतदेखि सयौं सङ्ख्यामा ल्याइएका वाइसिएल कार्यकर्ता र प्रहरी उपरीक्षक मोहनराज जोशीको नेतृत्वमा आक्रमण भएको दाबी बैठकपछि जारी विज्ञप्तिमा उल्लेखित छ ।
एमालेका सचिव विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आन्दोलनमा घाइते पार्टीका जिल्ला अध्यक्ष अमरबहादुर थापालगायतको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
धम्कीप्रति युनियनको आपत्ति
नेपाल प्रेस युनियनले दैलेखमा एमाओवादीका कार्यकर्ताले १० जना पत्रकारलाई डेकेन्द्र जस्तै बनाइदिने भनी दिएको धम्कीप्रति आपत्ति जनाएको छ ।
युनियनको केन्द्रीय कार्यसमितिको ११ माघमा बसेको बैठकले पत्रकारहरूलाई दिइएको धम्कीविरुद्ध भोलि बिहान १० बजे सिंहदरबार अगाडि आधाघण्टा घेराउ गर्ने निर्णय गरेको छ ।
युनियनका महासचिव शिव लम्सालका अनुसार युनियनको केन्द्रीय कार्यालयबाट जुलुसले सिंहदरबार पुगी घेराउ गर्नेछ । उनका अनुसार उक्त कार्यक्रममा सबै पेसागत सङ्घसंस्थालाई उपस्थित भइदिन अनुरोध गर्नुका साथै युनियनका देशभरका शाखाहरूलाई पनि विरोध प्रदर्शन गर्न आह्वान गरिएको छ ।
