समाचारशुक्रबार, माघ १२, २०६९
सुरक्षाको ग्यारेन्टी नगरेसम्म पत्रकारहरु दैलेख नफर्कने, तीन पत्रिका र दुई रेडियो बन्द
डेकेन्द्र थापाका हत्यारालाई जोगाउन प्रधानमन्त्रीले ठाडो आदेश दिएपछि आन्दोलित भएका पत्रकारहरु १० माघमा भएको दैलेख आन्दोलनका क्रममा एमाओवादी कार्यकर्ताले ‘डेकेन्द्रकै हालत’ बनाईदिने धम्की बारम्बार दिन थालेपछि ११ माघ राति दैलेखबाट सुर्खेत आइपुगेका छन् । “पछिल्लो समयमा हाम्रो सुरक्षा दिइरहेका जिल्लाका प्रहरी प्रमुख (डिएसपी शारदाप्रसाद चौधरी) र प्रशासन प्रमुख (सिडियो उमेशकुमार ढकाल) पनि रातारात सरुवा भएपछि हामीले दैलेख छोड्ने निर्णय गरेका हौं,” नेपाल पत्रकार महासंघ दैलेखका पूर्व सभापति विष्णु शर्माले हिमालखबरलाई बताए । उनले भने, “अहिले जिल्लाका दुई दैनिक, एक साप्ताहिक र दुईवटा रेडियो बन्द हुन पुगेका छन् ।”
२२ जना पत्रकार एकै पटक विस्थापित भएपछि जिल्लाबाट प्रकाशित हुने तेस्रो आँखा दैनिक, धमाका दैनिक, साझा प्रतिबिम्ब साप्ताहिक, ध्रुबतारा सामुदायिक रेडियो र रेडियो पञ्चकोशी पूर्णरुपमा बन्द भएका छन् । त्यसैगरी जिल्लाबाट रिपोर्टिङ गर्ने पत्रकार नहुँदा अन्य सञ्चारमाध्यमहरुमा पनि प्रभाव परेको छ ।
विस्थापित पत्रकारहरुसँगै, नेपाल पत्रकार महासंघ क्षेत्रीय समन्वय समिति सुर्खेतले क्षेत्रीय प्रशासन कार्यालयमा १२ माघमा दुईघण्टा धर्ना दिएका छन् । क्षेत्रीय प्रशासकले पत्रकारहरुको सुरक्षा गर्ने बताए पनि समिति सुर्खेतका संयोजक सूर्यमणि गौतमले प्रधानमन्त्री र गृहमन्त्रीबाट पत्रकारको सुरक्षा ग्यारेण्टी नहुँदासम्म पत्रकारहरु दैलेख जाने अवस्था नरहेको बताएका छन् ।
“हामी त असुरक्षित छौं नै तर, सरकार आफैं पत्रकार डेकेन्द्र हत्या मुद्दालाई कमजोर पारेर अपराधीलाई जोगाउने खेलमा लागेकोले थप चिन्ता बढाएको छ,” पूर्व सभापति शर्माले बताए ।
