समाचारशनिबार, माघ १३, २०६९
भक्तपुरमा विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच झडप
एमाओवादी अध्यक्ष पुष्पकमलदाहालसहित प्रधानमन्त्री भट्टराई पार्टीको पाँचौ जिल्ला अधिवेशनमा सहभागी हुन १३ माघ बिहान भक्तपुर पुग्ने थाहा पाएपछि उनीहरूले अरनिको राजमार्गमा चक्काजाम गर्दै प्रदर्शन गरेका छन् । विपक्षी दलका कार्यकर्ताहरूले चक्काजाम गरेपछि सडक खुलाउने क्रममा प्रहरीसँग झडप भएको छ । झडपमा तीन जना घाइते भएको एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले जानकारी दिए ।
अरनिको राजमार्गमा प्रदर्शन भएपछि प्रधानमन्त्री वैकल्पिक बाटो भएर भक्तपुर पुगेका छन् । स्थानीय प्रशासनले भक्तपुरको सुरक्षा व्यवसथा कडा पारेको जनाएको छ ।
पत्रकारहरुको विरोध
यसैबीच प्रधानमन्त्रीको विरोधमा भक्तपुरमा पत्रकारहरूले पनि कालोपट्टी बाँधेर समाचार सङ्कलन गर्ने भएका छन् । पत्रकारहरूको सुरक्षास्थिति गम्भीर बन्दै गएको र दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नहरूलाई कारवाही नगर्न प्रधानमन्त्रीले आदेश दिएपछि पत्रकारहरूले त्यसको विरोध गर्दै आएका छन् । जिल्ला अधिवेशनको क्रममा एकीकृत माओवादीले भक्तपुरको त्यौमडीमा सभा गर्दै छ ।

