समाचारशनिबार, माघ १३, २०६९
शहीद माथेमाको १०० औं जन्मजयन्ती मनाइयो
शहीद सप्ताह मूल समारोह समितिले सिफलस्थित माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा आयोजना गरेको कार्यक्रममा उनको शालिकमा माल्यार्पण गरियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले तत्कालीन राणा शासनविरुद्धको सङ्घर्षमा माथेमाले देश र जनताको स्वतन्त्रताको लागि जीवनको बलिदान दिएकाले त्यसको प्रतिफलस्वरुप आज नेपाली नागरिक स्वतन्त्र भएको धारणा व्यक्त गरे ।
कार्यक्रममा माथेमाको छोरी रेणु माथेमा श्रेष्ठले सम्पूर्ण राजनीतिक दलले शहीदहरुको सपना पूरा गर्न मुुलुककोे सामाजिक रूपान्तरणमा जोड दिनुपर्ने बताइन् । पूर्व राजदूत डा केदारभक्त माथेमाले शहीद माथेमाले देखाएको त्यागको आदर्शबाट प्रेरणा लिनुपर्नेमा जोडदिए ।
पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट विसं १९६६ असोज १० गते ओमबहालमा धर्मभक्त माथेको जन्म भएको थियो । माथेमालाई राणा शासनविरुद्वमा सक्रिय भई जनतालाई प्रजातान्त्रिक चेतना दिएको आरोपमा १३ माघ १९९७ मा मृत्युदण्ड दिइएको थियो ।
रासस
