समाचारशनिबार, माघ १३, २०६९

डेकेन्द्र हत्यासम्बन्धी मुद्दा अघि बढ्न नदिने प्रधानमन्त्रीको भनाई

हिमालखबर

पत्रकार डेकेन्द्र थापा हत्यासम्बन्धी मुद्दा अघि नबढाउन प्रधानमन्त्री भट्टराईले दबाव दि‌दै आएका छन् ।

उनले पत्रकार डेकेन्द्र थापाको हत्यासम्बन्धी मुद्दा परम्परागत हिसाबले नभई संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार अघि बढ्ने दाबी गरे । एकीकृत नेकपा माओवादी भक्तपुरको पाचौं जिल्ला सम्मेलनलाई १३ माघमा सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले हत्याको विषयमा विपक्षीले गरेको आन्दोलनप्रति असन्तुष्टि जनाए । “विपक्षीहरुले हजारौं मुद्दा छाडेर एउटा मुद्दाको मात्रै पछि लागेका छन,” भट्टराईले आरोप लगाए । उनले युद्धका बेला मरेका सबै जनताको जिम्मेवारी पनि कांग्रेस एमालेले लिनुपर्ने भन्न समेत भ्याए  ।

डेकेन्द्र थापा हत्यासम्बन्धी मुद्दाको अनुसन्धान रोक्नका लागि प्रधानमन्त्री भट्टराईले दबाव दिइरहँदा सर्वोच्चले उक्त मुद्दाको अनुसन्धान र अभियोजन नरोक्न आदेश जारी गरिसकेको छ । यसअघि भट्टराईले पत्रकार थापाको हत्यासम्बन्धी मुद्दा सर्वोच्चमा पुगिसकेकाले आफूले यसबारे टिप्पणी नगर्ने बताए पनि अहिले फेरि उक्त मुद्दालाई अघि बढ्न नदिने प्रधानमन्त्रीको अभिव्यक्ति आएको छ ।

सम्मेलनको उद्घाटन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नागरिकहरु माओवादीको पक्षमा देखिएपछि विपक्षी दलको मानसिक सन्तुलन खल्बलिएको टिप्पणी गरे । काङ्ग्रेस एमालेले कुर्सी नपाएका कारण नै अहिले सन्तुलन विग्रिएको दाहालले आरोप लगाए । उनले जेठको मध्यसम्ममा चुनाव हुने आधार दिएमा जुनसुकै व्यक्तिलाई प्रधानमन्त्री स्वीकार गर्न तयार रहेको समेत बताए ।

भक्तपुरमा सरकारविरुद्ध विपक्षी दलले गरेको प्रदर्शनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रधानमन्त्री भट्टराई विपक्षी दलको कार्यक्रमलाई छलेर कार्यक्रम स्थल पुगेका थिए । विपक्षी दलका कार्यकर्ताहरूले चक्काजाम गरेपछि सडक खुलाउने क्रममा प्रहरीसँग झडप भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>