समाचारशनिबार, माघ १३, २०६९
रौतहट र महोत्तरीमा प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार

महोत्तरीमा प्रधानमन्त्री सहभागी कार्यक्रममा पत्रकारहरुलाई प्रवेश नदिएपछि पत्रकारहरुले उक्त कार्यक्रमको समाचार बहिस्कार गरेका छन् ।
महोत्तरीका संचारकर्मीहरुले दण्डहिनताको अन्त्य गर, पत्रकार हत्या र वेपत्ता गर्नेलाई कारवाही गर नारा अंकित प्लेडकार्ड बोकी जलेश्वर रंगशाला स्थित कार्यक्रम स्थलमा प्रवेश गर्न खोज्दा प्रधानमन्त्री भट्टराईको ठाडो निर्देशनमा सञ्चारकर्मीहरुलाई प्रवेशमा रोक लगाएको थियो ।
कार्यक्रम प्रवेशस्थलमा रोक लगाएपछि प्रधानमन्त्री र स्थानिय प्रशासन विरुद्ध चर्को नारावाजी गर्दै महोत्तरीका संचारकर्मीले कार्यक्रम वहिस्कार गरेका हुन् ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव नागेन्द्र कर्णको अध्यक्षतामा वसेको आकस्मीक वैठकले संचारकर्मीहरुलाई कार्यक्रम स्थलमा प्रवेशमा रोक लगाइएकोमा खेद व्यक्त गर्दै कार्यक्रम वहिस्कार र समाचार समेत संम्प्रेशण नगर्ने निर्णय गरेको छ ।
यसअघि दिउँसो २ वजे हेलिकप्टरमा जलेश्वर आईपुगेका प्रधानमन्त्री भट्टराई, अध्यक्ष दाहाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सम्मिलित टोलिलाई कांग्रेस एमालेलगायत विपक्षी दलका नेता कार्यकर्ताहरुले जलेश्वरको जिरोमाईल वसस्टैण्ड चोक, सिनेमाहल चोक लगायतका विभिन्न ठाउँमा कालो झण्डा देखाउँदै विरोध जनाएका थिए ।

पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तलाई कारवाही नगर्ने प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध देशभरका पत्रकारहरु आन्दोलित छन् ।
रौतहटमा पनि बहिष्कार
प्रधानमन्त्री बाबुराम भट्टराई र अध्यक्ष पुष्पकमल दाहाल सहभागी एमाओवादी रौतहटको चौथो जिल्ला सम्मेलन पनि स्थानीय पत्रकारहरुले बहिस्कार गरेका छन् ।
पत्रकार डेकेन्द्र थापाको हत्यारालाई कारवाही नगरेको, दैलेखका विस्थापित पत्रकारहरुलाई शान्तिसुरक्षाको ग्यारेन्टी नगरेको र पत्रकारहरुले निकालेको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरी हस्तक्षेप गरेको भन्दै रौतहटका पत्रकारहरुले प्रधानमन्त्री सहभागी कार्यक्रम बहिस्कार गरेका हुन् ।
पत्रकारहरुले डेकेन्द्र थापाको हत्यारालाई कारवाही गर, पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी गर लगायतका नारा लगाउदै गौर नगर परिक्रमा गरेका थिए ।
यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईलाई कांग्रेस एमालेलगायतका विपक्षी दलका कार्यकर्ताहरुले आकाशे बेलुनमा कालो भण्डा फहराएर विरोध जनाएका छन् । हेलिकोप्टरबाट ओर्लने क्रममा उनीहरुले हावा भरेको बेलुनमा कालो झण्डा
बाँधेर उडाएका थिए ।
महेशकुमार दास महोत्तरीबाट
