समाचारसोमबार, माघ १५, २०६९
सरकारले अपराधीलाई संरक्षण दिइरहेको छः यादव
दाङबाट फर्कने क्रममा १५ माघमा भैरहवा आइपुगेका फोरम अध्यक्ष यादवले प्रधानमन्त्री र गृहमन्त्रीको वरीपरी अपराधीहरुको झुण्ड संधै देखिने गरेको आरोप लगाउँदै वर्तमान सरकार अपराधिकरण हुँदै गएको बताए ।
नेता यादवले दैलेखका पत्रकार विस्थापित हुनुमा पनि सरकारको हात रहेको भन्दै थपे,“एकजना पत्रकारलाई जिउँदै गाडेको मानवताविरुद्धको अपराध राजनीतिक घटना हुनै सक्दैन ।” सरकारले मुलुकमा दण्डहिनता बढाएको आरोप लगाउँदै आएका यादवले भने, “पत्रकार थापाको हत्यामा संलग्नलाई उन्मुक्ति दिने प्रधानमन्त्रीको प्रयासले पनि वर्तमान सरकारले अपराधीलाई संरक्षण दिइरहेको पुष्टी हुन्छ ।”
एकअर्को प्रसंगमा उनले वर्तमान सरकारले निर्वाचन गराउनै नसक्ने ठोकुवा गरे । गत मंसीरमा निर्वाचन घोषणा गरेर नसकेको सरकारले अर्को चुनाव पनि गराउन नसक्ने उनले बताए । भट्टराई नेतृत्वको सरकारलाई इतिहासमै सर्वाधिक भ्रष्ट भएको आरोप लगाउँदै यादवले मधेशी मोर्चालाई एमाओवादीको ‘पिछलग्गु’ भएको बताए । उनले भने, “नैतिक, राजनीतिक, संबैधानिक सबैतर्फबाट असफल भइसकेकोे यो सरकारले चुनवा गराउँछु भन्नु हास्यास्पद कुरा हो ।”
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाप्रति आक्रोशित देखिएका यादवले मोर्चा राजनीतिक उद्देश्यका लागि नभई राज्यसत्ताको दुरुपयोग गरेर भ्रष्टाचार गर्नेहरुको समूह भएको आरोप लगाए । स्पष्ट दृष्टिकोण नहुँदा मधेशकेन्द्रीत दलहरु फुटको शिकार भएको स्वीकार्दै उनले सत्ता र स्वार्थका कारण पार्टी फुट्ने गरेको बिश्लेषण सुनाए ।
मुकेश पोखरेल, भैरहवा

