समाचारमंगलबार, माघ १६, २०६९
लोकतन्त्र रक्षाका लागि आन्दोलनः पौडेल
सत्तारुढ दल एकीकृत नेकपा माओवादी र मधेशी मोर्चाले लोकतन्त्रलाई संस्थागत गर्न नसकेको भन्दै संघर्षका कार्यक्रमलाई सशक्त बनाउने पौडेलले बताएका छन् । प्रेस युनियन म्याग्दीले १५ माघमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले मुलुकमा संविधानसभाबाटै संविधान निर्माणका लागि नयाँ निर्वाचनको आवश्यकता भए पनि एमाओवादीको निर्वाचन नगराउने चाहनाका कारण मुलुकले निकास पाउन नसकेको बताए ।
एमाओवादी र मधेशी मोर्चा नयाँ निर्वाचनको पक्षमा नभएकाले कांग्रेस नेतृत्वको सरकारले मात्रै निर्वाचन गराउन सक्ने उनले दावी गरे । राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेको प्रकृयालाई लचिलो मानेर एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले १० बर्षसम्म पनि सरकारमा बसिरहने धम्की दिएको भन्दै त्यस्तो सपना नदेख्न उनले चेतावनी दिएका छन् । “राष्ट्रपति लचिलो बन्दा सत्तारुढ दलहरु अझ कडा भएका छन्,” पौडेलले भने, “यो सरकारबाट निर्वाचन सम्भव छैन । अब निर्वाचनका लागि सशक्त आन्दोलनको विकल्प छैन ।”
संवैधानिक निकाय रित्तिंदै गएको र राष्ट्रपति पनि लचिलो भएकाले निरङ्कुशता र सर्वसत्तावादको खतरा बढेको भन्दै विपक्षीहरुले लोकतन्त्रको रक्षाका लागि सशक्त आन्दोलन गर्नैपर्ने आवश्यकता देखिएको पौडेलले बताए ।
