समाचारमंगलबार, माघ १६, २०६९

पत्रकारद्वारा एमाओवादी कार्यक्रम बहिस्कार

हिमालखबर

एमाओवादी काभ्रे अधिवेशनमा सहभागी हुन प्रधानमन्त्री आउने भएपछि विरोध प्रदर्शन शुरु गरेका विपक्षी दलका कार्यकर्तामाथि एमाओवादी वाइसीएलले आक्रमण गर्दा बनेपा केही बेर तनावग्रस्त बन्यो ।

एमाओवादीका कार्यकर्ताहरुले पत्रकारलाई ज्यान मार्ने धम्कीसहित खोजी खोजी आक्रमण गरेपछि काभ्रेका पत्रकारले समाचार बहिस्कार गरेका हुन् । पत्रकार महासंघ काभ्रे शाखाले घटनाको भत्र्सना गर्दै समाचार बहिस्कार गर्ने निर्णय गरेका हुन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री एवम् उपाध्यक्ष बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी जिल्ला अधिवेशनको समाचार संकलनका लागि कार्यक्रम स्थल पुगेका नेपाल समाचारपत्रका रामकृष्ण चापागाई, अभियान दैनिकका काभ्रे सम्वाददाता तथा काभ्रे हटलाइनका कार्यकारी सम्पादक कृष्णचन्द्र बञ्जारा र रेडियो नमोबुद्धका प्रकाश सुन्दासलाई एमाओवादी कार्यकर्ताहरुले कुटपिट गरेका छन् भने कान्तिपुर सम्वाददाता मनोज बस्नेतमाथि आक्रमण गरी उनलाई ज्यान मार्ने धम्कीसमेत दिएका छन् । त्यसैगरी नेपाल टेलिभिजनका भोला थापा र सौर्य दैनिकका मोतिराम तिमल्सिनालाई पनि एमाओवादी कार्यकर्ताले आक्रमण गरेका छन् । तिमिल्सनाले इलाका प्रहरी कार्यलय बनेपाभित्र आश्रय लिएर जोगिएको बताए ।

तिमिहरुलाई चिनेको छु भन्दै एमाओवादी २ नं क्षेत्रीय सचिव धावा लामा सहितका कार्यकर्ताले पत्रकारहरुमाथि मुक्का प्रहार गरी कपडा च्यातिदिएका छन् । एमाओवादी कार्यकर्ताले इलाका प्रहरी कार्यलयमा समेत आक्रमण गरेका छन् ।

यसैबीच प्रधानमन्त्रीको विरोधमा कालो झण्डा देखाउन लागेका विपक्षी दलका नेता कार्यकर्ताहरु माथि पनि एमाओवादी वाइसिएलले आक्रमण गरेको छ ।

सरकारविरुद्ध आन्दोलित विपक्षी दलहरुले काभ्रेमा प्रधानमन्त्रीलाई निषेध गर्ने भन्दै प्रदर्शन शुरु गरेपछि वाइसिएलले आक्रमण शुरु गरेको थियो । वाइसिएलले प्रहार गरेको ढुंगा लागेर कांग्रेसका महाधिवेशन प्रतिनिधि कुन्साङ लामा, जिल्ला सदस्य मधुकर खनाल, नेकपा एमालेका सचिवालय सदस्य इन्द्र तामाङ, नेविसंघका जिल्ला सदस्य रुपक महत लगायत २ दर्जन विपक्षी दलका कार्यकर्ताहरु घाइते भएका छन् । कुन्साङ तामाङको ३ वटा दाँत झरेको छ । दोहोरो हानाहानमा केही घरका सिसा पनि  फुटेका छन् ।

वाइसिएल कार्यकर्ताले विपक्षी दलका कार्यकर्तामाथि आक्रमण शुरु गरेपछि घटनास्थलमा तैनाथ प्रहरी निरीक्षक चन्द्र केसी नेतृत्वको जिल्ला प्रहरी कार्यलय काभ्रेको टोली र सशस्त्र प्रहरीको टोली छेउ लागेको थियो ।

नगेन्द्र अधिकारी, काभ्रे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>