समाचारबुधबार, माघ १७, २०६९
राष्ट्रपतिद्वारा सहमतिका लागि दबाव
१७ माघ बिहान राष्ट्रपति यादवलाई भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईसँग उनले दलहरु सहमतिको बाटोबाट बाहिर गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । भेटमा प्रधानमन्त्री भट्टराईले भने सहमतिको पहल भइरहेको बताए । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गदै भट्टराईले दलहरुबीच सहमतिको पहल भइरहेको र छिट्टै सहमति हुने राष्ट्रपतिलाई बताएको जानकारी दिए ।
प्रधानमन्त्रीले भेटे लगत्तै राष्ट्रपति यादवसँग प्रमुख चार शक्तिका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा जारी छलफलमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरुको सहभागिता छ ।
दलहरुबीच केही दिनमै सहमति नभए जेठमा पनि निर्वाचन हुन नसक्ने भएपछि राष्ट्रपतिले दलहरुलाई सहमतिका लागि दबाव दिएका छन् । उनले देशका विभिन्न भागहरुमा भइरहेका झडप बारे पनि दलका नेताहरुसँग जानकारी मागेको शीतलनिवास स्रोतले जनाएको छ ।
