समाचारशुक्रबार, माघ १९, २०६९
जलाएर हत्या गरेको भन्दै विरोध प्रदर्शन
पढाइको सिलसिलामा सुर्खेतमा रहेका जुम्ला चन्दनाथ–३ भण्डारीवाडाका कमल भण्डारी र उनकी श्रीमती कमला बुडथापा (भण्डारी) बीच झगडा भएपछि कमलले १२ माघ राति पत्नी कमलामाथि मट्टितेल खन्याई आगो लगाएको अधिकारकर्मीहरुको आरोप छ । घाइते भएकी कमलालाई नजिकका आफन्तले भेरी अञ्चल अस्पतालमा नेपालगञ्ज ल्याएपछि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
तर मृतकका पतिले भने आफूलाई त्यस विषयमा थाहा नभएको बताएको भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता महिला अधिकारकर्मीले भने हत्यारालाई हदैसम्मको कारबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि धर्ना दिएका छन् । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सोबारे छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने विश्वास दिलाएका छन् ।
रासस
