समाचारशुक्रबार, माघ १९, २०६९
पत्रकार आक्रमणका दोषीलाई कार्वाही गर्न तीन दिनको अल्टिमेटम
एमाओवादी कार्यकर्ताद्वारा १५ माघमा प्रहरीकै अगाडि पत्रकारहरुमाथि आक्रमण हुँदा पनि स्थानीय प्रहरी र प्रशासनले दोषीलाई कारवाहीका लागि कुनै चासो नदेखाएको भन्दै काभ्रेका पत्रकारहरुले प्रशासनलाई तीन दिनको अल्टिमेटम दिएका छन् ।
घटनापछि १७ माघमा पत्रकार महासंघ नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाललाई दोषीलाई कारवाही गर्न ध्यानाकर्षण गराए पनि त्यसतर्फ कुनै पहल नभएपछि महासंघ काभ्रे शाखाले प्रशासनलाई तीन दिनभित्र दोषी पहिचान गरी कार्वाही नभएमा पत्रकारहरुले देशब्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । शाखा अध्यक्ष महेश पौडेल नेतृत्वमा गएको पत्रकारहरुको टोलीले समाचार संकलनको निम्तो दिएर पत्रकार कुट्ने एमाओवादी कार्यकर्तालाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउन माग गरेको छ । प्रमुख जिल्ला अधिकारीलाई भेट्न गएका पत्रकारहरुले अहिले पनि ज्यान मार्ने धम्की आइरहेकोले शान्ति सुरक्षाका लागि पनि आग्रह गरेका छन् ।
प्रजिअ ढकालले प्रहरीलाई सक्रिय बनाएर घटनाको सत्यतथ्य वाहिर ल्याउने र दोषीलाई अविलम्व कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नगेन्द्र अधिकारी, काभ्रे

