समाचारशनिबार, माघ २०, २०६९
भारतमा बलात्कारसम्बन्धी कानून परिवर्तन
भारतीय मन्त्रिपरिषदले फौजदारी कानूनमा संशोधनका लागि अध्यादेश पारित गर्दै बलात्कारका दोषीलाई जन्मकैददेखि मृत्युदण्ड सम्मको सजाय दिने ब्यवस्था गरेको छ भने बलात्कार शब्दको विस्तृत ब्याख्या गर्दै यौन हमला भनिएको छ ।
२३ डिसेम्बरमा दिल्लीमा एक छात्राको सामूहिक बलात्कार र बर्बर आक्रमणपछि भएको मृत्युको पृष्ठभूमिमा ल्याइएको यो अध्यादेश अन्तर्गत भारतीय दण्ड संहिता, अपराध प्रक्रिया संहिता र साक्ष्य अधिनियममा संसोधन गर्नुपर्ने छ । यो अध्यादेश लागु गर्नका लागि २० माघमा राष्ट्रपति समक्ष पेश हुँदैछ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार न्यायाधीश जेएस वर्माको नेतृत्वमा गठित समितिको सिफारिसका आधारमा अध्यादेश पारित गरेको बताइए पनि समितिले बलात्कारलाई दुर्लभ अपराधको श्रेणीमा राख्न नमिल्ने र हत्याको मनसाय साबित गर्न गाह्रो हुने भन्दै मृत्युदण्डलाई अस्वीकार गरेको थियो ।
