समाचारशनिबार, माघ २०, २०६९
भट्टराई तानाशाह बन्दैछन्: खनाल
विपक्षी दलहरुले २० माघमा विराटनगरमा गरेको बिरोध सभामा एमाले अध्यक्ष खनालले भट्टराईले नेपाली इतिहासमै सबैभन्दा निरंकुश शासन चलाउन खोजेको बताए । उनले भने, “राणा शासनको सय बर्षमा भएको भन्दा बढी लुट अहिलेको सरकारले गरेको छ, अब यसलाई एउटा बलियो धक्का दिएर ढलाउनु पर्छ ।” नेता खनालले विपक्षीहरुको आन्दोलन सत्ताप्राप्तिका लागि नभई लोकतन्त्रको क्रियाशिलता र संविधान सभाको निर्वाचनका लागि भएको दाबी गरे ।
सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादी हिंसाबाटै स्थापित भएको भन्दै बाबुराम भट्टराई पनि हिंसा गरेरै सत्ता टिकाउने अभियानमा लागेको आरोप लागाए । देउवाले भने, “म ५२ सालमा प्रधानमन्त्री हुँदा ४० बुँदे माग २० दिनमा पूरा गर्न माग गर्ने बाबुरामले आफैं प्रधानमन्त्री भएको २० महिनामा एक बुँदा पनि पूरा गर्न सकेका छैनन् ।”
सभामा नेकपा एमालेका नेता केपी ओलीले प्रधानमन्त्री भट्टराईको विपक्षीलाई नत्थी लगाएर सहमतिमा ल्याउने भन्ने अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै भने, “अब माओवादीले हैन विपक्षीले माओवादीलाई सहमति गरी चुनावमा जान बाध्य बनाउने छन् ।” ओलीले सरकारको दिनगन्ति शुरु भएको पनि दाबी गरे ।
कार्यक्रममा एमालेका नेताहरु राजेन्द्र गौतम, लालबाबु पण्डित, कांग्रेसका डा. मिनेन्द्र रिजाल, आमोद उपाध्याय, राप्रपाकी प्रतिभा राणा, चुरेभावर राष्ट्रिय एकता पार्टीका भूमिराज निरौला, नेपाल सद्भावना पार्टीका यदुवंश साह, नेकपा संयुक्तका मदनमोहन चौधरी, नेकपा मालेका प्रेमप्रसाद दाहाल, राष्ट्रिय जनमोर्चाका रस्मीराज नेपाली, राष्ट्रिय जनशक्ति पार्टिका इनु अधिकारीलगायतले सम्बोधन गरेका थिए ।
कमल रिमाल, विराटनगर
