समाचारशनिबार, माघ २०, २०६९
एमाओवादी महाधिवेशन– स्वतन्त्र व्यक्तिमा सहमति गर्नुपर्ने दाहालको भनाई
२० माघमा महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले निर्वाचनमा जाने विषयमा सबै सहमत भए पनि सरकारको नेतृत्वको विषयमा सहमति नभएको बताए । उनले भने, “ कोही त होला सबैले मान्न सक्ने व्यक्ति, ल्याउनुस र सरकार बनाएर निर्वाचनमा जाउँ ।”
दाहालले आफूले पहिले पनि विपक्षी दलहरुलाई बाबुरामको नेतृत्वमा आउन आग्रह गरेको बताउँदै अगाडि भने, “गृहमन्त्री, उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व र अख्तियारको प्रमुख तपाईहरु लिनुस भन्दा पनि सहमतिमा आउन चाहेनन ।” उनले आक्रोश पोखे, “मर्ने बेलामा कमिलाको प्वाँख आएको त होइन ?”
निर्वाचन निश्चित भए व्यक्ति ठूलो कुरा होइन: प्रधानमन्त्री
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले जेठमा चुनाव हुने सुनिश्चित्ता भए जो सुकैको नेतृत्वमा पनि सहमतिको सरकार गठन गर्न सकिने बताएका छन् ।
“जेठमा निर्वाचनको सुनिश्चितता र परिवर्तनका एजेण्डाहरुलाई संस्थागत गर्ने हो भने सहमतिका लागि सरकारको नेतृत्व ठूलो कुरा होइन,” प्रधानमन्त्री भट्टराईले भने । उनले मुलुकमा गणतन्त्र आए पनि परिवर्तनका थुप्रै विषयहरु संस्थागत गर्न बाँकी रहेको भन्दै विपक्षी दलहरुलाइ समझदारीमा आउन आग्रह गरे ।
राष्ट्रिय स्वाधिनता प्रमुख मुद्दाः श्रेष्ठ
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले महाधिवेशनमा अध्यक्ष दाहालले प्रस्तुत गर्ने प्रतिवेदनमा राष्ट्रिय स्वाधिनताको मुद्दा नउठाइएको भन्दै आफूले फरक मत राख्ने दोहोर्याए । उनले स्वाधिनताको मुद्दा नेपालको महत्वपूर्ण विषय भएको भन्दै त्यसलाई बेवास्ता गर्न नसकिने बताए ।
उद्घाटन समारोहमा नेपालका राजनीतिक दलका नेताहरु, नागरिक समाजका व्यक्तिहरु, विदेशी राजनीतिक दलका प्रतिनिधिहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुले पनि शुभकामना व्यक्त गरे ।
अधिवेशनमा नेकपा–माओवादी (मोहन बैद्य नेतृत्व) का नेताहरु पनि सहभागी भएनन् । त्यसैगरी नेपाली कांग्रेस र एमालेका प्रमुखहरु पनि सहभागी थिएनन् । नेपाली कांग्रेस सभापति सुशील कोइराला विपक्षीहरुको आन्दोलनका क्रममा मध्यपश्चिममा र एमाले अध्यक्ष झलनाथ खनाल विराटनगरमा जानु परेकोले सहभागी नभए पनि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेब गौतम, राप्रपा अध्यक्ष पशुपति शम्शेर राणा, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापा लगायतका नेताहरु सहभागी थिए ।
२५ माघसम्म चल्ने महाधिवेशनको बन्द सत्र २१ माघदेखि हेटौडा औद्योगिक क्षेत्रमा हुनेछ ।
