समाचारआइतबार, माघ २१, २०६९
गोरखापत्र बाजे मृत भेटिए
गोरखापत्रबाजेका नामले चर्चित पत्रिका वितरक (पछिल्लो समयमा पत्रिका व्यापारी) ८० वर्षीय चन्द्रकान्त पौडेलको शव पोखराको माटेपानीस्थित सेती नहरमा २१ माघ दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पञ्चायतको शुरुदेखि नै पोखराबासीको राजनीतिक चेतनालाई लगातार घच्घच्याउँदै, त्यतिबेला हल्ला गर्दै पत्रिका बेच्ने नामूद वितरक चन्द्रकान्त पौडेल २१ माघ बिहानैदेखि वेपत्ता थिए । राति खाना खाएर सुतेका पौडेललाई बिहान नदेखेपछि उनको परिवारले खोजी गर्दा दिउँसो पोखरा–१३ तीनकुना मुहानस्थित नहरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उतीबेला पत्रिकाहरु धेरै नहुँदा गोर्खापत्र बेचेर गुजारा गर्ने बाजे समाचारहरुलाई आफूखुशी ब्याख्या गर्दै कराउँथे र तत्कालीन राजनीतिको दिशावोध गराउँथे । मुलुकमा भएका विभिन्न प्रजातान्त्रिक आन्दोलनमा पनि सक्रिय रहेका बाजेले बीपी कोइरालाका विचारहरु जनसमक्ष पुर्याउनमा पनि महत्वपूर्ण योगदान दिएका थिए ।
