समाचारआइतबार, माघ २१, २०६९
एमाओवादी बन्द सत्र शुरु हुन सकेन
२० माघमा उद्घाटन भएको महाधिवेशनको बन्द सत्र २१ माघ ११ बजेदेखि शुरु हुने बताइएको भए पनि प्रतिनिधि चयनमा विवादका कारण शुरु हुन नसकेको हो ।
केही जिल्लाबाट धेरै प्रतिनिधि आएको तथा केही जिल्लाबाट अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई पक्षबाट छुट्टाछुट्टै प्रतिनिधि आएकाले उनीहरुको पासको विषयलाई लिएर भएको विवादका कारण बन्द सत्र शुरु हुन नसकेको हो ।
केहीबेर अघि पत्रकार सम्मेलन गरेर एमाओवादी प्रवक्ता अग्नीप्रसाद सापकोटाले विशुद्ध प्राविधिक कारणले मात्र ढिलो भएको दाबी गरेका छन् । प्रतिनिधि तथा प्राविधिकहरुको पासमा अध्यक्षले हस्ताक्षर गर्नमा केही गडबढी भएकाले त्यो सकेर आजै बन्द सत्र शुरु हुने पनि प्रवक्ता सापकोटाले जानकारी दिए ।
बन्द सत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पेश गरिने नेताहरुले जनाएका छन् । बन्द सत्र शुरु नभए पछि प्रतिनिधिहरु अलपत्र चौरमा गफ गर्दै समय विताइरहेका छन् भने कतिपयलाई बन्द सत्र शुरु नहुनुको कारण पनि थाहा छैन ।
