समाचारसोमबार, माघ २२, २०६९

अपहृत बालकको उद्धार, दुई अपहरणकारी मारिए

हिमालखबर

बालक अपहरणको आरोपमा पर्सा प्रहरीले पक्राउ गरेका अभियुक्तहरु । तस्बीर: अली असगर

प्रहरीले पर्साको भेडियारी गाविसबाट २२ माघ बिहान बालक श्लोक अग्रवालको उद्धार गरेको हो । आदर्शनगरका व्यापारी अशोक अग्रावालका ८ वर्षीय छोरा श्लोक अग्रवाल माघ १३ गते घर नजिकैबाट अपहरणमा परेका थिए । सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक पिताम्बर अधिकारीको नेतृत्वमा खटिएको टोलीले भेडियारी गाविस–९ गदियानी टोलका रामनाथ गिरिको घरबाट श्लोकलाइ अपहरणमुक्त गराएको हो ।

बालकको उद्धार गर्ने क्रममा प्रहरी र अपहरणकारी बीच भएको भिडन्तमा प्रहरीले चलाएको गोली लागेर दुई जना अपहरणकारी रामनाथ गिरीका छोरा संजय गिरी र थर खुल्न नसकेका विन्देश्वर नाम गरेका अर्का एकजनाको मृत्यु भएको छ भने अपहरणकारीले चलाएको गोली लागेर दुई जना प्रहरी जवान सूर्यबहादुर थापा र बोदाबहादुर तामाङ पनि घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट कटुवा बन्दुक दुई थान, एसएलआरमा लाग्ने गोली पाँच राउण्ड बरामद गरेको छ ।

बालकको उद्धार गर्ने क्रममा प्रहरीले गिरिको घर घेरा हालेपछि अपहरणकारी समूहले अचानक गोली चलाएपछि प्रहरीका तर्फबाट जवाफी कार्वाहीमा १७ राउण्ड गोली चलाइएको प्रहरी उपरीक्षक अधिकारीले बताए । अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले बालकलाइ बन्धक बनाएर राखिएको घरका धनी रामनाथ गिरीका पत्नी ४५ वर्षीया रम्भादवी गिरी, छोरा १९ वर्षीय अजय गिरीसहित ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले वीरगञ्ज १३ का २० वर्षीय कुनाल अग्रवाल, १९ वर्षीय पन्नालाल सहनी, ३२ वर्षीय राजनबाबु बानिया र १८ वर्षीय सिकेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ ।

भेडियारीका पन्नालाल सहनीसहित ४ जनालाइ १९ माघमा नियन्त्रणमा लिएपछि उनीहरुको बयानका आधारमा प्रहरीले रामनाथ गिरीको घरमा छापा मारेको हो । गत१३ माघमा आदर्शनगर बालमन्दिर नजिकै रहेको घर अगाडि खेलीरहेका बेला मोटरसाइकलमा आएका दुइ जनाले बालक श्लोकको अपहरण गरेका थिए । अपहृत बालक सकुशल छन् ।

अली असगर, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>