समाचारसोमबार, माघ २२, २०६९
बाबुराम भन्दा दुधे बालक ठिकः ओली
एमाले नेता ओलीले बाबुराम भट्टराई नेतृत्वको सरकारले देशमा लुट मच्चाएको आरोप लगाउँदै उनी भन्दा दूधे बालकलाई प्रधानमन्त्री बनाए देशले निकास पाउने भन्दै ब्यङ्ग्य गरे । उनले अगाडि भने, “दूधे बालक दूधभात खान्छ बस्छ, बाबुरामले जस्तो बखेडा झिक्दैन ।”
प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा २२ माघमा नेपालगञ्जमा आयोजित कार्यक्रममा ओलीले कांग्रेस सभापति सुशिल कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने सहमति भएलगत्तै एमाओवादीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने अभिव्यक्ति दिएर सत्ता लम्ब्याउन खोजेको बताए । “माओवादीलाई केही गरेपनि हुदैन, हामी सिटामोल दिन्छौं, उसले चिरपटले हान्छ,” उनले भने, “अब हामीले पनि चिरपटनै प्रयोग गर्नुपर्छ ।”
नेता ओलीले भट्टराई नेतृत्वको सरकार पदलोलुपताको विश्व नमूना बनेको पनि टिप्पणी गरेका छन् । सर्वत्र विरोध भइरहँदा पनि मुलुकलाई अनिर्णयको बन्दी बनाएर भट्टराई सरकार सत्तामै टाँसिरहेको ओलीले आरोप लगाए । उनले सरकारले राज्य शक्तिको दुरुपयोग गर्दै राज्य कोषबाट करोडौं रकम दुरुपयोग गरिरहेको दाबी गरे ।
सरकार नाङ्गिदै गएको आरोप लगाउँदै ओलीले थप व्यंग्य गरे, “गोठमा गोरु नाङ्गै बसेको सुहाउँछ, समाजमा मान्छे नाङ्गै बसेको सुहाउदैन ।” सहमति गरेको दुई मिनेटमै कुरा बदल्ने एमाओवादीलाई अब जनताले ठेगान लगाउने उनको भनाई छ ।
डि भण्डारी, नेपालगञ्ज
