समाचारमंगलबार, माघ २३, २०६९
बिहीबारदेखि मौसम सफा रहने
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी तराईका जिल्ला बाहेकका अधिकांश स्थानमा २३ माघमा वर्षा भएको छ । मुस्ताङ, मनाङ, जोमसोमलगायत उच्च पहाडी तथा हिमाली भेगमा हिमपातसमेत भएको छ ।
भूमध्य सागरबाट जाडो याम (हिउँद) मा पश्चिमतर्फ प्रवाह हुने हावालाई पश्चिमी वायु भनिन्छ । त्यसको गतिको आधारमा मनसुनमा परिवर्तन आएर तापक्रममा घटबढ तथा मौसममा प्रभाव पर्ने गर्दछ । काठमाडौँमा आज बिहानैदेखि बदली रहेको भए पनि हावा नचलेका कारण बेलुकीपख वर्षा हुन सक्ने र यो क्रम बुधबारसम्म रहने मौसमविद् मीनकुमार अर्यालले बताए ।
उनले काठमाडौं उपत्यकामा तापक्रम बढिसकेकाले वर्षा भए पनि चिसो नबढ्ने र बिहीबारदेखि मौसम सफा हुने सङ्केत देखापरेको भन्दै काठमाडौंमा २३ माघ बिहान ९ बजेसम्म १.५ मिलीमिटर वर्षा भएको जानकारी दिए ।
रासस
