समाचारमंगलबार, माघ २३, २०६९
लोकतन्त्र नमान्नेलाई जिम्मेवारी दिंदा बर्बाद भयोः ओली
२३ माघमा कैलालीको धनगढीमा आयोजित विपक्षी दलहरुको विरोधसभालाई सम्बोधन गर्दै नेता ओलीले अब फेरि पनि लोकतन्त्रप्रति विश्वास नगर्ने उग्रवामपन्थी एमाओवादीलाई सत्ताको जिम्मेवारी दिन नहुने बताए । उनले एमाओवादीले मुलुकमा संविधान बन्न नदिने षडयन्त्र अनुसार राजनीतिक संकट निम्त्याएको पनि आरोप लगाए । नेता ओलीले बैचारिक र ब्यवहारिक दबाब बिना अतिवाद तह नलाग्ने भन्दै लोकतन्त्र संस्थागत गर्न विपक्षी दलहरुले आन्दोलन शुरु गरेको जानकारी गराए ।
सभामा नेपाली काग्रेसका केन्द्रीय सदस्य रामशरण महतले सहमतिको सरकार गठन गरी चाँडै निर्वाचनमा जानका लागि आन्दोलन गर्नु परेको भन्दै बाबुराम भट्टराईलाई सत्ताबाट नहटाएसम्म त्यो पूरा नहुनेमा जोड दिए । उनले सरकारको गलत अर्थनीतिका कारण देशमा उद्योग धन्दा, पर्यटन, विद्युत् उत्पादनलगायतका क्षेत्रको अवस्था नाजुक बनेको आरोप लगाए ।
सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, राष्ट्रिय जनशक्ति पार्टीका गोविन्दविक्रम साहलगायतले लोकतन्त्रलाई संस्थागत गर्न र संवैधानिक क्रियाशिलताका लागि वर्तमान सरकारको बहिर्गमन जरुरी रहेको बताएका थिए ।
