समाचारबुधबार, माघ २४, २०६९
हेग लाने तयारी थियोः प्रम भट्टराई
हेटौंडामा जारी एमाओवादी महाधिवेशनको बन्द सत्रमा प्रधानमन्त्री भट्टराईले सरकारमा रहेर पार्टीलाई घाटा नभएको भन्दै आफूहरु सरकारमा नभएको भए द्वन्द्वकालका मुद्दा उठाएर आफूहरुलाई हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा लग्ने तयारी रहेको बताए । बन्दसत्रमा प्रतिनिधिहरुले सरकारको आलोचना गरेपछि जवाफ दिंदै भट्टराईले भने, “सरकारमा रहेर प्रतिक्रान्तिलाई रोकेका छौं ।” उनले दैलेखका पत्रकार डेकेन्द्रराज थापा हत्याको प्रकरण हेग लैजाने तयारी अनुसार चर्काइएको दाबी गरे ।
उनले भारतसँग गरेको विप्पा सम्झौता राष्ट्रघात नभएर लगानी बढाउने माध्यममात्रै भएको बताउँदै यस्तो सम्झौता अन्य धेरै देशहरुसँग गर्नुपर्नेमा जोड दिए । धोविघाट प्रकरणमा माफी माग्नु पर्ने संस्थापन पक्षका अधिकांश प्रतिनिधिको जवाफमा उनले त्यस प्रकरणलाई कोट्याउनु जरुरी नभएको भन्दै त्यसबाट पाठ सिक्नुपर्ने बताएका थिए ।
उनले विगतका सरकारहरु भन्दा आफूले राम्रो काम गरेको पनि दाबी गरेका थिए ।
