समाचारबिहीबार, माघ २५, २०६९
‘सरकारको हैसियत कामचलाउ पनि रहेन’
२५ माघमा प्रेस चौतारीद्वारा आयोजित एक कार्यक्रममा नेता ओलीले कामचलाउभन्दा पनि तल्लो हैसियतमा पुगेको भन्दै आन्दोलनको बलमा भट्टराई नेतृत्वको सरकारलाई छिट्टै विदा गरिने बताएका छन् । उनले वर्तमान सत्ताधारीमा राणाकालीन प्रेत सवार भएको भन्दै स्रोतसाधन र सभ्यतासम्पन्न नेपालमा जनताहरु गरिब हुनु आश्चर्यको विषय भएको र काँग्रेस–एमाले विपक्षमा रहेर एमाओवादी सरकारमा हुनुचाहिँ क्षणिक आश्चर्य भएको बताए ।
देशमा चन्दा आतङ्कलाई तीव्रता दिन, जनतासँग पैसा माग्न अहिले कार्यकर्तालाई पूर्णकालीन बनाउन एमाओवादीले महाधिवेशन मार्फत आर्थिक बिग्रेड र उत्पादन दस्ताको प्रस्ताव ल्याएको ओलीले आरोप लगाए ।
एक प्रश्नको जवाफमा नेता ओलीले स्वतन्त्र वा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनको प्रस्तावभन्दा मूलधारका राजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठन हुनु उपयुक्त हुने बताए । “सामान्य अवस्थाको निर्वाचन गराउने सरकारको नेतृत्वका लागि त्यस्ता व्यक्ति खोज्ने चलन छन् तर, अहिले मुलुकलाई राजनीतिक विचारले नै नेतृत्व गर्नुपर्ने अवस्था छ” नेता ओलीले भने, “देशरुपी गाडी हाँक्न राजनीतिक ड्राइभर चाहिन्छ, एमाओवादीले गाडीको ब्रेक र चक्का भाँच्न खोजेको छ ।”
हेटौंडामा जारी एमाओवादीको महाधिवेशनबारे सोधिएको प्रश्नमा उनले पहिल्यै तय भएका विषयमा छलफल चलाएजस्तो गरेको भन्दै एमाओवादी नाममा वामपन्थी काममा दक्षिणपन्थी भएको दाबी गरे ।
एमाओवादीलाई अन्तरिम संविधानमा एमाले सरहको हैसियत दिइनु र उसलाई सोही हैसियतमा निर्वाचनमा जान दिइनु गलत भएको ओलीको भनाई थियो । “मैले निर्वाचनको परिणाम आएलगत्तै यो अनुपयुक्त बनोट आयो, संविधान बन्दैन भनेको थिएँ,” उनले भने, “अब पनि भ्रममा पर्नु पर्दैन त्यो दलको नेतृत्वमा संविधान आउँदैन र परिवर्तनका उपलब्धिको रक्षा हुँदैन ।” देशभक्त, परिवर्तनशील र विधिको शासनका पक्षपातीहरु विपक्षीहरुको जारी आन्दोलनमा आउनुपर्ने भन्दै उनले २६ माघमा काठमाडौंमा हुने विरोधसभा सशक्त हुने विश्वास व्यक्त गरे ।
