समाचारबिहीबार, माघ २५, २०६९
राष्ट्रपतिले ठोस कदम चाल्नु पर्छः कोइराला
२५ माघमा प्रेस युनियनले जनकपुरमा आयोजना गरेको कार्यक्रममा पत्रकारको जिज्ञासाको जवाफ दिंदै कोइरालाले संविधानको उल्लंघन भइरहेको अवस्थामा संविधानको संरक्षकका हैसियतले राष्ट्रपति रामवरण यादवले कस्तो कदम चाल्नु पर्छ भन्ने बारेमा राष्ट्रपति आफैंले सोच्नु पर्ने बताए । उनले भने, “यस विषयमा यसै गर्नुपर्छ भनेर कांग्रेसले राष्ट्रपतिलाई भन्दैन तर, हामीले उहाँलाई बारम्बार ठोस कदम चाल्न आग्रह गरेका छौं ।”
एमाओवादीको सर्वसत्तावादी सोचको कारण राष्ट्रिय सहमति हुन नसकेको आरोप लगाउँदै कोइरालाले अब आन्दोलनबाटै बाबुराम भट्टराई नेतृत्वको सरकारलाई हटाउनु जरुरी रहेकोमा जोड दिए ।
उक्त अवसरमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सत्तामा रहेर पनि आन्दोलनमा जान्छौं भन्नु सत्ताधारीहरुको हिटलरवाद हो भन्दै दैलेखका पत्रकार डेकेन्द्र थापालाई जिउंदै गाड्नेलाई जोगाउन मरिहत्ते गर्ने सरकारलाई जनताले नै हटाउने विश्वास व्यक्त गरेका थिए ।
बटुकनाथ झा, जनकपुर
