समाचारबिहीबार, माघ २५, २०६९
विपक्षी दलद्वारा एमाओवादीको प्रस्ताव अस्वीकार
नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा २५ माघमा बसेको विपक्षी दलको बैठकपछि उनीहरुले माओवादीको नयाँ प्रस्ताव स्विकार्न नसकिने बताएका हुन् । विपक्षी दलले राजनीतिक दल बाहेकका व्यक्तिको नेतृत्वमा सरकार बनाउन संभव नहुने प्रतिक्रिया दिएका छन् ।
कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले सत्ता लम्ब्याउन माओवादीले नयाँ कार्ड फ्याँकेको प्रतिक्रिया दिए । बडुले भने, “माओवादीले १० थरीका कार्डहरु फ्याँकिरहेको छ र त्यस्मा विश्वास गर्न सकिन्न ।” उनले मुलुकलाई अझै पनि अन्योलमा धकेल्ने नियतकासाथ माओवादीले नयाँ प्रस्ताव अघि सारेको बताए ।
राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव सैद्धान्तिक रुपमा गलत भएको टिप्पणी गरे । उनले भने, “कार्यकारी, न्यायपालिका र विधायिकाको अधिकार एउटै व्यक्तिको हातमा दिन सकिन्न । त्यो सैद्धान्तिक रुपमै गलत छ ।”
यसैबीच सरकारविरुद्ध दोस्रो चरणका आन्दोलनका कार्यक्रम निर्धारण गर्ने जिम्मेवारी संयुक्त कार्यदललाई दिइएको छ । शीर्ष नेताहरुको निर्देशनमा कार्यदलले तयार गरेको कार्यक्रम २९ माघमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने कांग्रेस नेता बडुले जानकारी दिए ।
बैठकमा कांग्रेस सभापति सुशील कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, एमाले अध्यक्ष झलनाथ खनाल, केपी ओली, ईश्वर पोखरेल, माले महासचिव सी.पी. मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपतिशम्शेर राणा, राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनी, नेकपा संयुक्तका महासचिव सुनिल मानन्धर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी., नेपाल सद्भावना पार्टी (आ.)का उपाध्यक्ष यदुवंश शाह र चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका सहअध्यक्ष भूमिराज निरौला सहभागी थिए ।
