समाचारशुक्रबार, माघ २६, २०६९
अपराधीलाई नेपालकै जेलमा ठोक्छौं: खनाल
२६ माघमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले बाबुराम भट्टराई नेतृत्वको सरकारले सिंहदरबार र बालुवाटारलाई अपराधी लुक्ने सेल्टर भएको आरोप लगाउँदै त्यस्ता अपराधीलाई अब जेल ठोक्ने बताए ।
विपक्षी दलहरुले आयोजना गरेको उक्त जनसभामा अध्यक्ष खनालले भने, “ माओवादीले सरकारमा नभएको भए हामी हेग पुगिसक्थ्यौं भनेको छ ।” उनले थपे, “हामी अपराधीलाई हेग पठाउँदैनौं, नेपालकै जेलमा ठोक्न चाहन्छौं ।”
नेपाली जनताले आन्दोलको आँधीबेरी सृजना गरेर बाबुराम सरकारलाई हटाउने पनि उनले चेतावनी दिए । जनता सर्वसत्तावादको नभई लोकतन्त्रका पक्षमा भएको सुनाउँदै विगतमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न आफूहरुले आन्दोलन गर्नु परेको बताए ।
नेता खनालले सरकारले सबै क्षेत्र खाली गराएर एकलौटी शासनको सपना देखिरहेको आरोप लगाउँदै अगाडि भने, “निर्वाचन आयोग खाली भइसक्यो, न्यायालयहरु पनि विस्तारै खाली हुन थालेका छन् । सबै खाली गराएर एमाओवादी एकलौटी शासन लाद्न खोज्दैछ ।”

