समाचारसोमबार, माघ २९, २०६९
चार दल १५ जेठमा चुनाव गराउन सहमत
एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाबीच २९ माघ विहान भएको बैठकमा १५ जेठसम्म संविधान सभाको चुनाव गर्ने गरी सहमतिको सरकार गठन गर्ने सहमति भएको हो । चुनावको मिति र सहमतिको सरकार गठन गर्नेमा सहमति भए पनि कस्को नेतृत्वमा सरकार गठन गर्ने बारेमा भने सहमति भइसकेको छैन ।
बैठकपछि एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले १५ जेठमा चुनाव हुने गरी सहमति जुटेको जानकारी दिए । उनले आजै साँझ राष्ट्रपतिसँग हुने छलफलमा ठोस निष्कर्ष आउन सक्ने बताए ।
दलहरुले साँझ ५ बजे राष्ट्रपति डा रामबरण यादवसँग छलफल गर्ने भएका छन् ।
एमाओवादीले अघि सारेको बहालवाला प्रधानन्यायाधीश, स्वतन्त्र व्याक्ति वा पूर्व प्रधानन्यायाधीशको नेतृत्वका बारेमा भने सहमति भएको छैन । आज दिनभर दलहरुले त्यसमा आन्तरिक छलफल गरेपछि राष्ट्रपतिसँग बेलुका थप छलफल गरेर निष्कर्षमा पुग्ने नेताहरुले बताएका छन् ।
बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सेना समायोजन विशेष समितिको सचिवालयमा बसेको थियो ।
यसअघि २८ माघमा बसेको प्रमुख विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेको बैठकले आज निर्णायक वार्ता गर्ने र सहमति नभए आन्दोलन चर्काउने निर्णय गरेको छ ।
