समाचारबुधबार, फाल्गुण २, २०६९
मापदण्ड नपुगेको भन्दै सत्य निरुपण तथा मेलमिलाप अध्यादेश फिर्ता गर्न माग
२ फागुनमा राष्ट्रपति डा रामवरण यादवलाई भेट्न शीतलनिवास पुगेको समितिका अध्यक्ष सुशिल प्याकुरेल नेतृत्वको टोलीले सरकारद्वारा प्रस्तुत मेलमिलाप र वेपत्ता आयोगसम्बन्धी अध्यादेश सम्वैधानिक र अन्तर्राष्ट्रिय मापदण्ड तथा राष्ट्रिय मानवअधिकार आयोग समेतले सुझाव गरेको मापदण्ड पूरा नगरेको भन्दै स्वीकृत नगर्न माग गरेको हो ।
यसअघि समितिले उक्त अध्यादेश परिमार्जन गरेर मात्रै पारित गर्नुपर्ने भन्दै सरकारसँग फिर्ता गर्न माग गरेको थियो ।
राष्ट्रपतिसँगको भेटपछि प्रतिक्रिया दिंदै अध्यक्ष सुशील प्याकुरेलले मापदण्ड पूरा नगरिएको उक्त अध्यादेश राष्ट्रपतिले जस्ताको तस्तै स्वीकृत नगर्ने आफूले संकेत पाएको बताए । उनले भने, “उक्त अध्यादेश परिमार्जनका लागि फिर्ता हुनेमा हामी विश्वस्त छौं ।”
टोलीमा अध्यक्ष प्याकुरेल सहित सदस्यहरु मन्दिरा शर्मा, सुवोध प्याकुरेल, चरण प्रसाई, गोविन्द वन्दि र हरि फुयाँलको सहभागिता थियो ।
यसअघि पनि समितिले उक्त अध्यादेश मन्त्रिपरिषदले पारित गरेलगत्तै अस्वीकार गर्न राष्ट्रपतिलाई अनुरोध पत्र पठाइसकेको छ ।
