समाचारबिहीबार, फाल्गुण ३, २०६९
चुनावी सरकारबारे एमालेले आज निर्णय गर्ने
सहमतिको सरकार गठनका लागि आएका विभिन्न विकल्पमा छलफल गरी ठोस निर्णयका लागि बसेको स्थयी कमिटीको बैठकमा कुनै निष्कर्ष नआएको एमाले सचिब विष्णु पौडेलले हिमालखबरलाई बताएका छन् । उनले भने, “आजको बैठकले भोली केन्द्रीय समितिको बैठक बोलाई निष्कर्षमा पुग्ने निर्णय गरेको छ ।”
यो सँगै चुनावी सरकार गठनका लागि दलहरुबीच आज हुने भनिएको सहमतिको संभावना टरेको छ । आजै राष्ट्रपति कार्यालयमा चार दलका नेताहरुबीच भएको छलफलमा ४ फागुनमा पुनः छलफल गरी सहमतिमा पुग्ने नेताहरुले बताएका छन् । एमालेले एक दिनको समय मागेपछि ४ फागुनमा पुनः राष्ट्रपति कार्यालयमा दलहरुले छलफल गर्नेछन् ।
विशेषगरी प्रधानन्यायाधीशको नेतृत्व स्वीकार्ने वा नगर्ने विषयमा स्थायी कमिटीमा नेताहरुबीच मतभिन्नता भएपछि यो विषय केन्द्रीय कमिटीबाटै निर्णय गर्नुपर्ने सहमति भएको बुझिएको छ ।
