समाचारशनिबार, फाल्गुण ५, २०६९
राष्ट्रपतिद्वारा चेतावनी, दलहरु एमाले निर्णय कुर्दै
दलहरुले ५ फागुनमा पनि सहमति गर्न नसके बाध्य भएर ६ फागनुदेखि नयाँ परिस्थिति सिर्जना हुनसक्ने चेतावनी राष्ट्रपतिले दिएको बीबीसीले कांग्रेस नेता रामशरण महतलाई उद्धृत गर्दै जनाएको छ ।
यसअघि प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने विषयमा दलहरुबीच मोटमोटी सहमति भए पनि एमालेले यसबारे केन्द्रीय कमिटीबाटै निर्णय गर्ने बताएपछि एमाओवादी, नेपाली कांग्रेस र मधेशी मोर्चा नेकपा एमाले केन्द्रीय कमिटीको औपचारिक निर्णय पर्खेर बसेका छन् ।
४ फागुनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले राजनीतिक दलकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् । आज ५ फागनुमा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने वा नगर्ने भन्ने बारे एमालेको औपचारिक धारणा आएपछि दलहरुले संयुक्त छलफल गर्ने छन् ।
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने विषयमा सत्तारुढ गठबन्धन मोर्चा र विपक्षी नेपाली कांग्रेसभित्रै पनि चर्को आन्तरिक मतभेद छ ।
