समाचारशनिबार, फाल्गुण ५, २०६९
आजै साँझ एमाओवादीको सरकार ढल्छः ओली
नेकपा एमाले भक्तपुर क्षेत्र नम्बर २ कमिटीको ५ फागुनमा उद्घाटन गर्दै नेता ओलीले एमाओवादी नेतृत्वको सरकार आजै ढल्ने दाबी गरेका छन् । उनले सरकार ढलेलगत्तै सर्वसाधारण जनताले राहतको महसुस गर्ने पनि बताए ।
अब बन्ने सहमतिको सरकारको नेतृत्व राजनीतिक दलहरूबाटै खोजिने र यसमा सहमति हुन नसकेमात्रै अन्य विकल्पमा जाने भन्दै उनले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्नेमा दलहरू असफल भएको सन्देश जाने भएकाले राजनीतिक दलका व्यक्तिबाटै सहमतिको प्रयास थालिने बताए । नेता ओलीले अब देश निर्वाचनमा जाने निश्चित भएकाले जेठ मसान्तसम्ममा निर्वाचन हुनेमा आम जनतालाई ढुक्क हुन आग्रह गरे ।
एमाओवादीको लोकतन्त्र सिध्याउने र संवैधानिक संकट खडा गर्ने एवम् अतिवादी नेतृत्वलाई स्थापित गर्ने रणनीति असफल भएको दाबी गर्दै नेता ओलीले अब जनताले आगामी निर्वाचनमा एमाओवादीको चरित्रलाई उदाङ्गो पार्ने छ भन्नुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रामेश्वर फुँयालले एमाओवादी सत्ताबाट हटेपछि देशले सहज रूपमा निकास पाउने बताएका थिए ।
