समाचारसोमबार, फाल्गुण ७, २०६९
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री नबनाउन सर्वोच्चमा रिट
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनाबी सरकार गठन गर्ने दलहरुको निर्णय रोक्न अधिवक्ता भरतमणी जंगमले सर्वोच्च अदालतमा ६ फागुनमा रिट दायर गरेका हुन् ।
रिटमा बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु अन्तरिम संविधान, शक्ति पृथकीकरणको सिद्धान्त र लोकतान्त्रिक मान्यताविरुद्ध भएको दाबी गरिएको छ । रिटमा भनिएको छ, “ प्रस्तुत निवेदनको टुंगो लाग्न केही समय लाग्ने भएकोले तत्कालै बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नेखालका कुनै पनि निर्णय नगर्न नगराउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरि पाउँ ।”
६६ वर्षीय जंगमले आफू जेष्ठ नागरिक समेत भएकोले आफ्नो रिटलाई अग्राधिकारमा राख्न समेत माग गरेका छन् । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई विपक्षी बनाइएको छ ।
उक्त रिटमा पूर्व प्रधानन्यायाधीश वा स्वतन्त्र व्यक्रिको अध्यक्षतामा चुनावी सरकार बनाउन परमादेशको माग समेत गरिएको छ ।
