समाचारमंगलबार, फाल्गुण ८, २०६९

नेताहरु दाहाल निवासमा

हिमालखबर

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा जारी बैठकमा कार्यदलको प्रस्ताव बारेमा छलफल भइरहेको छ ।

दिउँसो राष्ट्रपति डा रामवरण यादवसँगको छलफलमा सहमति गरेरै जाने तयारीस्वरुपमा लाजिम्पाटमा बैठक शुरु भएको बुझिएको छ । नागरिकता, मतदातानामावली, बिभिन्न आयोगहरुको बारेमा सहमति गर्न कठिन हुने भन्दै दलहरु छुट्टै छलफल गर्न लागेका हुन् ।

बैठकमा कार्यदलको प्रस्तावमा सहमति हुन बाँकी बुँदाको बारेमा छलफल हुने नेताहरुले बताएका छन् । चारै दलका दुईदुई जना सदस्य सम्मिलित कार्य दलले ६ फागुनमा सहमतिको प्रस्ताव बुझाएको थियो । बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गर्ने र आगामी २२ जेठमा संविधानसभाको नयाँ निर्वाचन गर्ने कार्यदलको प्रस्तावमा उल्लेख छ । मतदाता नामावली, नागरिकता, बिभिन्न आयोग गठन लगायतका अन्य विषयमा भने आज छलफल हुने भएको छ ।

मुख्य ९ वटा बुँदा रहेको प्रस्तावमा मन्त्रिपरिषद्का सदस्ययहरुको संख्या अध्यक्षसहित बढीमा ११ जना हुने र अन्तरिम चुनावी मन्त्रिपरिषद्को समयावधि संविधानसभा व्यवथापिका संसदको निर्वाचन सम्पन्न भएर नयाँ प्रधानमन्त्री चयन भई कार्यभार सम्हालेपछि स्वतः समाप्त हुने उल्लेख गरिएको छ ।

प्रमुख राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको एक उच्चस्तरीय राजनीतिक परामर्श समिति गठन गर्ने, संविधानसभा व्यवस्थापिका संसदको निर्वाचन ५ वर्षको लागि गर्ने, २०६८ साल चैत्र मसान्तसम्म १८ बर्ष उमेर पुगेका नेपाली नागरिकहरुलाई मताधिकार दिने लगायतका सुझाव कार्यदलले पेस गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>