समाचारमंगलबार, फाल्गुण ८, २०६९
दलहरुको बैठकमा सहमति हुन सकेन
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सहमति गरेका एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठकमा सरकार गठनको प्रक्रिया, त्यसको अधिकार क्षेत्र, निर्वाचनसँग सम्बन्धित विषयहरुमा सहमति नजुटेपछि बैठक साँझ फेरि बस्ने गरी स्थगित भएको छ । खासगरी मधेशमा नागरिकता वितरण, मतदाताको नामावली सङ्कलन, सत्य निरुपण तथा मेलमिलाप आयोग गठनलगायतका विषयमा नेताहरुबीच कुरा नमिलेको तमलोपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।
अहिले सहमति हुन नसके पनि सहमतिका लागि प्रयास जारी रहेको भन्दै आजै साँझ नयाँ बानेश्वरस्थित सेना समायोजन सचिवालयमा बस्ने बैठकमा सहमति कायम गर्ने नेताहरुले बताएका छन् ।
नेताहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा आगामी जेठभित्रमा निर्वाचन गराउने बारे प्याकेजमा सहमतिका लागि कार्यदल बनाएर सुझाव लिएका थिए । कार्यदलले प्रस्तुत गरेका केही बुँदामा सहमति नभएपछि शीर्ष नेतृत्वमा छलफल चलिरहेको हो ।
