थप समाचारमंगलबार, फाल्गुण ८, २०६९
माओवादीको बन्दमा कहाँ के भयो ?

नेकपा–माओवादीले ८ फागुनमा आयोजना गरेको नेपाल वन्दका बेला सुनसान भद्रकाली–रत्नपार्क क्षेत्र । तस्बीरः रासस
बन्दले बिहानैदेखि सवारीका साधन चलेका छैनन् भने शैक्षिक संघसंस्था तथा कलकारखाना पनि बन्द छन् । बन्दकर्ताहरुले काठमाडौंको नयाँवानेश्वर चोकमा कान्तिपुर टेलिभिजनको एउटा गाडीमा तोडफोड गरेका छन् भने सगरमाथा टेलिभिजनको गाडीमाथि पनि तोडफोड भएको छ ।
चुनावी सरकारको नेतृत्व बहालवाला प्रधानन्यायाधीशलाई गर्न दिन नहुने भन्दै बन्दको आह्वान गरिएको नेकपा–माओवादीले जनाएको छ । यसअघि दैलेखका पत्रकार डेकेन्द्रराज थापाको मुद्दा बल्झाएर आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको विरोधमा बन्द गर्ने जनाएको माओवादीले फेरि दलहरुबीच प्रधान्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको तयारीलाई प्रमुख विरोधको एजेण्डा बनाएको छ ।
तनहुँमा मोटरसाईकल जलाइयो
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न दलहरुले गरेको सहमतिको विरोधमा नेकपा–माओवादीले आह्वान गरेको बन्दका क्रममा तनहुँको दुलेगौंडा गाछेपानीमा एउटा मोटरसाईकल जलाइएको छ ।
तनहुँ गाछेपानीका स्थानीय मीनबहादुर घले सवार ग ६ प ९१०६ नम्बरको मोटरसाइकललाई माओवादी कार्यकर्ता विष्णु खत्रीको निर्देशनमा नारायण परियार लगायतले जलाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् । तर, सो घटनामा आफ्नो संलग्नताको बिषयलाई नेकपा माओवादी तनहुँले खण्डन गरेको छ ।
पार्टि सचिव अतिन्द्रकेशरी न्यौपानेले बन्दका क्रममा घटेकाले नैतिक जिम्मेवारी लिएपनि स्थानीय कार्यकर्ताहरुको सहभागिता नभएको दाबी गरे ।
पवन पौडेल
अर्घाखाँचीमा गाडि नियन्त्रणमा
बन्दका क्रममा गाडी चलाएको भन्दै ठाडाचाक्लाबाट ३ वटा जीप र ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको नेकपा–माओबादी अर्घाखाँचीका सेक्रेटरी बाबुराम घिमिरेले बताएका छन ।
अर्घाखाँची सदरमुकाममा विहानै देखि सडकमा सवारी साधन गुडेका छैन्न भने बजार, शिक्षण संस्था कलकारखना पनि सवै ठप्प छन् । माओवादी कार्यकर्ताहरु विहानैदेखि चोक चोकमा जम्मा भएर बन्द गराउदै हिडेका छन् । सडकमा सुरक्षाकर्मीका सवारी साधन र प्रेस टाँसिएका केही मोटर साइकल मात्रै चलेका छन् ।
प्रेमनारायण पौडेल
सप्तरीमा आंशिक प्रभाव
नेकपा–माओवादीसहितका दलहरुले आह्वान गरेको नेपाल बन्दको यहाँ आंशिक प्रभाव परेको छ ।
आज बिहानैदेखि सदरमुकामबाट चल्ने लामो दूरीका सवारीसाधनहरु फाटफुट चलेका छन् भने जिल्लाका विभिन्न भागमा चल्ने छोटो दूरीका सवारीसाधनहरु पूर्ण रुपले सञ्चालन भएका छन् ।
सदरमुकाम राजविराजसहित जिल्लाका विभिन्न भागमा अधिकांश बजार, पसल, उद्योग सञ्चालन रहेका छन् भने बन्दको विद्यालयहरुमा कुनै किसिमको प्रभाव परेका छैनन् ।
रासस
झापामा पसलमा ढु्ङ्गा प्रहार
नेकपा–माओवादीका कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै आज दिउँसो सुरुङ्गा बजारका पसलहरुमा ढुङ्गा प्रहार गरी बन्द गराउन प्रयास गरेका छन् ।
झापाको सुरुङ्गा बजारका जमिन तिम्सिनाको पसलमा ढुङ्गा प्रहार गर्दा पसलको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ढुङ्गा प्रहार गर्नेहरु भागेको बताइएको छ ।
उक्त घटनापछि केहीबेर तनावको वातावरण कायम भए पनि यतिखेर बजारको अवस्था सामान्य भइसकेको र पूर्ववत् रुपमा पसलहरु सञ्चालनमा रहेको बताइएको छ ।
छिटफुट घटनाबाहेक झापाको जनजीवन सामान्य छ ।
धनकुटामा तीनवटा ट्रक तोडफोड
नेकपा—माओवादीले आह्वान गरेको आमहड्तालको अवज्ञा गरेको भन्दै कार्यकर्ताहरुले धनकुटामा तीन वटा ट्रकमा तोडफोड गरेका छन् ।
धरानबाट खाद्यान्न लिएर धनकुटा तर्फ जाँदै गरेको ना ४ ख ५६९ नम्बरको ट्रक, इँटा बोकेको ना ३ ख ४४१७ नम्बरको ट्रक र कुखुराको सुली लिएर आउँदै गरेको को १ ख २१४७ नम्बरको ट्रक धनकुटा नगरपालिकाभित्रै माओवादी कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।
तोडफोड गर्ने क्रममा सिसाले लागेर ट्रक चालक फुर्वा शेर्पा घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बन्दकर्ताले धनकुटा जिल्लाका दर्जनभन्दा बढी सरकारी कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।
सन्तोष रुचाल



