समाचारबिहीबार, फाल्गुण १०, २०६९
बहराइन र ओमानमा दूतावास खोल्ने मन्त्रिपरिषद निर्णय
१० फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीमा धेरै नेपाली जाने बहराइन र ओमानमा दूतावास खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
यस्तै, सरकारले चीनको ग्वाङजाउ र साउदी अरबको जेद्दामा कन्सुलर कार्यालय खोल्ने पनि निर्णय गरेको छ । यस्तै, सरकारले उज्वेकिस्तान र सामोआसँग कूटनीतिक सम्बन्ध कायम गर्ने निर्णय गरेको छ ।
भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयको नाम परिवर्तन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बनाइएको समेत प्रवक्ता यादवले जानकारी दिए ।
मन्त्रिपरिषद वैठकले कृषि विकास मन्त्रालय अन्तर्गतको पशु चिकित्सा परिषद्को अध्यक्षमा धनराज रताल, रजिस्टारमा डा नारायण घिमिरे र सदस्यसचिवमा डा सीताराम अर्याललाई नियुक्त गरेको छ ।
गरिबी घरपरिवार परिचयपत्र वितरणका लागि तयार पारिएको आर्थिक कार्यविधि २०६९ पारित गरिएको पनि प्रवक्ता यादवले जानकारी दिए ।
यस्तै, मन्त्रिपरिषद्ले साना किसान तथा उद्यमी ऋण मिनाहा कार्यविधि २०६९ समेत पारित गरेको छ भने स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउन्डेसन मण्डिखाटारका लागि रु २९ लाख ६६ हजार जग्गा रजिस्ट्रेसन शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।
यसैगरी, मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय रूपमा महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था सेडाको २०१५–२०१८ का लागि महिला अधिकारकर्मी सपना मल्ल प्रधानलाई नेपालको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले बिपी कोइराला विज्ञान सङ्ग्रहालय विकास समितिको अध्यक्षमा शोभाकान्त लामिछानेलाई नियुक्त गरेको छ भने नेपाल पारवहन व्यवस्था कम्पनी लिमिटेडको कार्यकारी निर्देशक उग्रसेन राना र व्यापार तथा निकासी केन्द्रका कार्यकारी निर्देशक सुरेन्द्रधर सिग्देलको राजीनामा स्वीकृत गरेको छ ।
रासस
