समाचारआइतबार, फाल्गुण १३, २०६९
कार्यदलको सुझावमाथि आज नेताहरुले छलफल गर्ने
अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा १२ फागुनमा बसेको कार्यदलको बैठले प्रधानन्यायाधीसको चासो, कानुन ब्यवसायीको सुझावलाई समेत समेटेर प्रस्ताव तयार गरेको कार्यदलका सदस्य फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले जानकारी दिए । उनले शक्ति पृथकीकरणमा असर नपर्ने गरि भाषा मिलाएको बताए ।
एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका दोस्रो तहका नेताहरु सम्मिलित कार्यदलले प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउन संवैधानिक र कानूनी जटिलता फुकाएर सहमति जुटाउने जिम्मा पाएको थियो । कार्यदलको बैठकले मतदाता नमावाली, सत्य निरुपण तथा मेलमिलाप आयोग र नागरिकताको विषयमा भने टुंगो लगाउन सकेन ।
सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्दा अन्तराष्ट्रिय चासोलाई पनि ध्यान दिने कार्यदलले सुझाव दिएको छ । नागरिकताका विषयमा सहमति नभएपछि शीर्ष नेतालाई जिम्मा दिने निर्णय गरेको छ ।
१२ फागुन विहान बसेको चार पक्षका शिर्ष नेताले सहमतिका लागि थप प्रकृया मिलाउन कार्यदललाई जिम्मा दिएका थिए ।
कार्यदलले तयार गरेको सुझावका विषयमा छलफल गर्न १३ फागुनमा फेरी बैठक बस्ने एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
