समाचारआइतबार, फाल्गुण १३, २०६९
बारले नै सरकार चलाओस्: गौतम
देशको वर्तमान राजनीतिक जटिलताका कारण प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न दलहरु सहमत भएको उल्लेख गर्दै त्यसको विरोध गर्ने भए बार एसोसिएसनलाई नयाँ प्रधानमन्त्रीको विकल्प दिन आग्रह गरे ।
“बारलाई दलहरुको प्रस्ताव मान्य नहुने हो भने उसैले सरकार बनाओस्,चुनाव गराओस् र संविधान लेखोस्” गौतमले भन्नुभयो ।
प्रेस चौतारी बागलुङले १३ फागुनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले अगाडि भने, “देशमा अहिले न संविधानवाद नै छ न कुनै शक्ति पृथकीकरणको सिद्धान्तअनुसारको शासन नै छ,” गौतमले भने “मलुकलाई लोकतन्त्र र संवैधानिक व्यवस्थामा फर्काउन जसरी भएपनि नयाँ चुनावमा जानुपर्ने छ ।”
गौतमले वर्तमान सरकारको बहिर्गमन अहिलेको आवश्यकता भएको भन्दै प्रधानन्यायाधीशकै नेतृत्वमा चुनावी सरकार बनाउन अधिकतम पहल गरिने बताए । प्रधानन्यायाधीश नेतृत्वमा सरकार नबन्ने अवस्था आएमा अन्य विकल्पमा जान पनि दलहरु तयार रहेको उनको भनाई छ ।
“दलकै नेताको नेतृत्वमा सरकार निर्माण हाम्रो पहिलो प्राथमिकता हो,” गौतमले भने, “तर त्यो सम्भव हुन नसकेपछि गैरदलीय व्यक्तिको विकल्पमा जानुपर्ने बाध्यता आएको हो ।”
गौतमले नयाँ सरकार गठन गरेर छिटोभन्दा छिटो निर्वाचनमा जानुपर्ने टड्कारो आवश्यकता भएकाले यसमा सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।
रासस
