थप समाचारआइतबार, फाल्गुण १३, २०६९
कस्ता होलान भविष्यका स्मार्ट शहर
अत्याधिक रुपमा बढिरहेको जनसंख्यालाई थेग्न र बढ्दो प्रदुषणबाट शहरलाई मुक्त पार्नुका साथै पूरै शहरलाई ‘वेब नेटवर्क’ मा जोड्नु पर्ने भएकाले पनि पूराना शहरहरु नविकरण हुन थालेका हुन् ।
स्मार्ट शहर भन्नुको अर्थ डेटाको मद्दतबाट ट्राफिक जाम बाट बच्न सकियोस वा शहरबासीहरुलाई उत्कृष्ट सूचना प्रदान गर्न विभिन्न सेवाहरुलाई एउटै सञ्जालमा जोड्न सकियोस । यस्तै कुनै शहरहरुका लागि स्मार्ट हुनुको अर्थ हरियाली र कम दूषित पर्यावरण निर्माण गर्नु हो ।
आइबीएम तथा सिस्को जस्ता सूचना–प्रविधिसम्बन्धी कम्पनीहरु स्मार्ट शहरहरुमा आफ्ना लागि ठूलो अवसर देखिरहेका छन् ।
संसारभरी चर्चामा रहेका यस्ता केही स्मार्ट शहरका परियोजनाहरुका बारेमा केही जानकारीः
संग्डो, दक्षिण कोरिया
कतिपयका लागि संग्डो स्मार्ट शहरको नमूना हो । येलो सी समूद्री किनारामा सन् २००५ देखि यो शहरको निर्माण शुरु भयो र यसका लागि ३५ अर्ब डलर खर्च गरिंदैछ ।
यो शहरको विशेषता भनेको पूरै शहर एउटा सूचना प्रणलीसँग जोडिएको छ जसले गर्दा यसलाई ‘बाकसमा बन्द शहर’ पनि भनिन्छ , सन्गडोमा सबै कुरा इलेक्ट्रोनिक सेंसरबाट नियन्त्रित हुन्छन् । जस्तै स्वचालित सिढीहरु जसमा मानिस उभिएपछि मात्रै चल्छन् ।
सबै घरहरुमा टेलिप्रेजेंस सिस्टम लगाइएको छ । त्यसैगरी घरका ताल्चा, घर तताउने हिटिंग प्रणली सबैमाथि इ–नेटवर्कको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ । विद्यालय, अस्पताल, सरकारी कार्यालयहरु पनि यसै नेटवर्कभित्र पर्छन् ।
प्रविधिका दृष्टिकोणले यो शहर अनुपम छ, तर यो सबैका लागि आदर्श शहर भने नहुन पनि सक्छ ।
यो शहरलाई प्रविधिमा सिस्कोले सघाइरहेको छ । शहरको सम्पूर्ण निर्माण सन् २०१५ सम्म सम्पन्न हुनेछ । जहाँ ६५ हजार मानिस बस्न सक्नेछन भने तीन लाख मानिसहरु कामका लागि आउने छन् ।
मास्दार, संयुक्त अरब इमिरेट्स
अरबी भाषामा मास्दारको अर्थ स्रोत हुन्छ । यो शहर अबुधाबी मरुभूमीको बीचमा निर्माण हुँदैछ ।
यसलाई धरतीकै सबैभन्दा दीर्घकालिन शहरका रुपमा निर्माण गरिँदैछ । शहरमा सौर्य र वायु ऊर्जा प्रयोग गरिएकाले प्रदूषण निकै कम हुने छ ।
यहाँ कुनै कार देख्न पाइने छैन । शहरलाई प्रदूषण मुक्त राख्न बिजुलीबाट चल्ने चालक विहिन गाडी प्रयोगमा ल्याइनेछ ।
यस शहरमा ४० हजार मानिस बस्न सक्नेछन् । तर यस शहरको निर्माण लागत अर्बौं डलर हुने भएकाले अन्य ठाउँमा यस्तो शहर बनाउन सहज नहुने आलोचकहरु बताउँछन् ।
रियो दि जेनेरियो, ब्राजील
रियोमा सन् २०१४ मा विश्वकप फुटबल र २०१६ मा ओलम्पिकको आयोजना हुँदैछ । संसारभरका मानिसको मेजबानीमा जुटेको यस शहरमा ती अवसरहरुका लागि विशेष तयारी हुँदैछ ।
परिआउने जस्तोसुकै परिस्थितिको पनि सामना गर्न यहाँ तीस वटा एजेन्सीलाई एउटै नेटवर्कमा जोडिएको छ ।
मौषमको पूर्वानुमानका लागि आइबीएमले जटिल प्रणाली तयार गरेको छ । मौषम र ट्राफिक आदिका लागि विशेष एप्स बनाइँदै छन् ।
तर यो शहरमा सबै कुराहरु कर्पोरेट नेतृत्वमा भइरहेका छैनन् । रियोका झुपडीहरुमा बस्ने आम मानिसहरुले एउटा यस्तो प्रोजेक्ट सञ्चालन गरिरहेका छन जसका मार्फत उनीहरुले आफ्ना घर नयाँ ढाँचामा निर्माण गर्न सकुन् । यस्ता घरहरु निर्माणको सजिलो तरिका इन्टरनेट मार्फत् उपलब्ध गराइएको छ र उनीहरुलाई पनि आफ्नो डिजाइन इन्टरनेटमा राख्न आग्रह गरिएकोछ ।
यो परियोजनाको आदर्श भनेको घर निर्माणमा सबै जनता लाग्ने हो भने कस्तो घर बन्छ भन्ने पनि हो ।
बार्सिलोना, स्पेन
गत वर्ष बार्सिलोना शहरका एक प्रमुख अधिकारीले अब आउने स्मार्ट शहर भविष्यमा कैयन देशहरु भन्दा ज्यादा शक्तिशाली हुने बयान दिएर चर्चामा आएका थिए ।
स्मार्ट शहरहरुको नेता बन्ने उद्देश्यका साथ बार्सिलोनाले केही रोचक परियोजनाहरु लागु गर्दैछ । बसका रुटहरुदेखि फोहर उठाउने प्रक्रिया सम्मलाई सेंसरको मद्दतले बढी सबल पारिंदैछ ।
परिवहनका लागि पैसा तिर्ने व्यवस्था जहाँबाट पनि हुन सक्ने गरी सजिलो पारिंदैछ ।
लण्डन, इग्ल्याण्ड
लण्डनमा केही साना परियोजनामा काम सञ्चालन भइरहेका छन् । रोमन कालको यो शहर नयाँ प्रविधिका लागि परिक्षण भूमि साबित भइरहेकोछ ।
भविष्यमा विद्युत वितरण सहज बनाउन इंटेलले विशेष प्रविधिको परीक्षण गरिरहेको छ ।
यो बाहेक वायुको गुणस्तर, यातायातको प्रवाह र पानीको वितरणमा निगरानी राख्ने सेन्सरहरुको नेटवर्कमा पनि काम भइरहेकोछ ।
लण्डनमा सन् २०११ मा भएको दंगाले विशेषगरी टोटेनह्याम र अन्य केही इलाकामा निकै क्षति पु¥याएको थियो ।
इञ्जिनियरिंग कन्सल्टेन्सी कम्पनी अरुपले टोटेनह्याम इलाकालाई नयाँ रुप दिने उद्देश्यका साथ दंगामा परेका मानिसहरुसँग विचार विमर्श गरेर परियोजना निर्माण गरिरहेकोछ ।
बीबीसी





