समाचारशुक्रबार, फाल्गुण १८, २०६९
शीर्ष नेताहरुको बैठक निष्कर्ष विहीन, राष्ट्रपतिसँग परामर्श
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलहरुबीच सहमति हुन नसकेपछि त्यहाँबाट नेताहरु राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेका थिए । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाल वाहेकका नेताहरु सहभागी थिए ।
प्रधानमन्त्री बाबुराम भट्टराई सहित नेपाली कांग्रेसबाट सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमालेबाट नेता केपी ओली र मधेशी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार र तमलोपाका अध्यक्ष महन्त ठाकुर सहभागी थिए । राष्ट्रपति यादवले छिटो सहमति गरि निकास निकाल्न आग्रह गरेका छन् ।
स्रोतका अनुसार सहमति हुनुअघि नै दलहरुले प्रधानन्यायाधीशका विषयमा प्रचारवाजी गरेको भन्दै राष्ट्रपतिले असन्तुष्टि पोखेका छन् ।
दलहरुबीच नागरिकता, मतदाता नामावली, सेना समायोजन अन्तर्गत लडाकुको दर्जा निर्धारण, सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा सहमति भइसकेको छैन । कार्यदलले विवाद मिलाउन नसकेपछि शीर्ष नेतृत्वले विवाद समाधान गर्न १७ फागुनबाट छलफल शुरु गरेको छ ।
आज शीर्ष तहमा छलफल भएपछि दोस्रोतहका नेताहरु र कार्यदलका सदस्यसहितको छलफल हुने तय गरिएको थियो ।
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सहमतिको चुनावी सरकार बनाउने सहमति बने पनि अरु विषयमा विवाद नमिल्दा सहमतिको सरकार बन्न कठिन बनेको छ ।
माओवादी नेता तथा कार्यदलका सदस्य खिमलाल दवेकाटाले नागरिकता, मतदाता नामावली, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश, पूर्वलडाकूहरुको दर्जा निर्धारणबारे छलफल चलिरहेको र आजै फेरिे बैठक बसेर समाधान गर्न सक्ने बताए ।
