थप समाचारशुक्रबार, फाल्गुण १८, २०६९
बंगलादेशमा भड्केको हिंसामा ४२ को मृत्यु
बंगलादेशमा युद्ध अपराधको छानविनका लागि गठित ट्रिब्यूनल अदालतले विपक्षी जमात–ए–इस्लामीका नेता दिलावर हुसैन सईदीलाई सन् १९७१ को मुक्ति संग्रामका बेला गरेको युद्ध अपराधका लागि १६ फागनुमा मृत्युदण्डको सजाय सुनाएको थियो ।
यो फैसलालाई सईदीका विरोधीहरु र सत्तापक्षीयले स्वागत गरेका छन् तर सईदीको दल जमात–ए–इस्लामीका समर्थकहरुले त्यसको विरोध गरिरहेका छन् । विरोधले उग्र रुप लिएको छ भने प्रहरीसँग लगातार मुठभेड भइरहेको छ । जमात–ए–इस्लामीले ट्रिब्यूनलको फैसला पक्षपातपूर्ण भएको बताएको छ ।
अहिलेसम्म ट्रिब्यूनलले सजाय सुनाएका तीनजना नेता मध्ये सईदी सबैभन्दा बरिष्ठ नेता हुन् । यो फैसलाको विरोध गरिरहेका करिब दुई हजार जमात–ए–इस्लामीका समर्थकले गईबाँधा जिल्लामा एक प्रहरी चौकीमा हमला गरेर तीन प्रहरीको हत्या गरेका छन् ।
देशभर हिंसा
प्रहरीका अनुसार नेआखलीमा एक हिंदू मन्दिरमा क्षति पुर्याइएको छ भने हिन्दू परिवारमाथि आक्रमण समेत भएको छ ।
यो फैसलापछि बंगलादेशका विभिन्न क्षेत्रबाट हिंसाका खबरहरु आइरहेका छन् । राजधानी ढाकामा शान्तिसुब्यवस्था कायम राख्न हजारौंको संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।
सईदीका वकिलहरुका अनुसार उनीहरु यो फैसालाका विरुद्ध सर्वोच्च न्यायालयमा अपिल गर्ने तयारीमा छन् ।
सईदीलाई जुन २०१० मा गिरफ्तार गरिएको थियो र उनलाई सन् १९७१ मा जनसंहार, बलात्कार र अन्य अपराधहरुमा दोषी भएको बताइएको छ ।
यसअघि १६ फागुनमा हजारौं व्यक्तिहरुले राजधानी ढाकामा सइदीलाई मृत्युदण्डको सजाय दिन माग गर्दै प्रदर्शन गरेका थिए ।
सइदीमाथि मुक्ति संग्रामका बेला अल बद्र संगठनसँग मिलेर हिन्दूहरुलाई जबरजस्ती मुसलमान बनाइ अत्याचार गरेको आरोप पनि लागेको छ । सइदीका आलोचकहरुका अनुसार उनले बंगाली हिन्दूहरु र मुक्ति संग्राम समर्थकहरुको सम्पत्ति लुट्नका लागि गिरोह बनाएका थिए । दिलाबर हुसैन सईदीविरुद्ध १९ वटा आरोप लगाइएका थिए जसलाई सईदीले खारेज गरेका छन् ।
यसका साथै उनीमाथि मानवता विरोधी अपराध र जनसंहारको पनि आरोप लगाइएको छ ।
ट्रिब्युनलको गठन
यो विशेष अदालतको गठन सन् २०१० मा वर्तमान सरकारले मुक्ति संग्रामका बेला पाकिस्तानी सेनासँग मिलेर आन्दोलनलाई दबाउन लागि परेका व्यक्तिमाथि छानविन गरी सजाय दिन गठन गरेको थियो ।
तर, विभिन्न मानवअधिकारबादी संगठनहरुले यो ट्रिब्युनल अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नभएको बताउँदै आएका छन् ।
आधिकारिक तथ्याङ्कका अनुसार मुक्ति संग्रामका बेला ३० लाखभन्दा धेरै मानिस मारिएका थिए ।
एजेन्सीहरुको सहयोगमा


