समाचारशनिबार, फाल्गुण १९, २०६९
निरंकशुताविरुद्ध आन्दोलित हुन नागरिक समाजको आह्वान
राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागि नागरिक अभियानको अगुवाईमा १९ फागुनमा रत्नपार्कमा आयोजित विरोधसभामा बोल्ने वक्ताहरूले लोकतान्त्रिक मूल्य मान्यता विपरीत गैरसंवैधानिक तरिकाले सरकार गठन गर्न लागेको भन्दै विरोधमा उत्रन आग्रह गरेका हुन ।
कार्यक्रममा टिकाराम भट्टराईले २०६२/०६३ मा जस्तै आन्दोलनमा उत्रन आह्वान गरे । भट्टराईले पूर्व राजाले माघ १९ र असोज १८ मा कदम चाल्दा पनि निर्वाचनका लागि भनेको र अहिलेको अवस्थामा पनि त्यो भन्दा फरक नभएकाले विरोधमा उत्रनु परेको धारणा राखे ।
विरोधसभाका अर्का वक्ता लालबाबु यादवले पंचायती शासन व्यवस्थामा समेत न्यायालयमाथि प्रहार नभएको भन्दै अहिले लोकतन्त्रको आधारस्तम्भ जोगाउन आन्दोलनको विकल्प नभएको उल्लेख गरे ।
यसैगरी हरिहर दाहालले दुई वटा लाभको पदमा एउटै व्यक्ति बस्न नमिल्ने संवैधानिक व्यवस्था विपरीत एउटै व्यक्तिलाई प्रधानन्यायाधीश र प्रधानमन्त्री बनाउन खोज्नु लोकतन्त्र समाप्त पार्ने षडयन्त्र भएको बताए ।
विरोधसभामा बोल्दै सकलदेव सुतिहारले असंवैधानिक र गैरलोकतान्त्रिक तरिकाले प्रधानमन्त्री चयन गरिए आफूहरूले तुरुन्तै आन्दोलन थाल्ने घोषणा गरे ।
