थप समाचारआइतबार, फाल्गुण २०, २०६९
सेनाका पुर्व कर्णेलको घरबाट रक्तचन्दन बरामद
प्रहरीले रक्तचन्दनको तस्करीमा संलग्न एक जना कारोबारीलाइ पनि पक्राउ गरेको छ । सेनाका भूतपुर्व कर्णेल प्रेमचन्द्र प्रसाद कुशवाहाको बाराको गोलागन्ज–४ स्थित गोठबाट सशस्त्र प्रहरीले १८ फागुन राति दुइ क्वीन्टल ८५ किलो ग्राम रक्तचन्दन काठ बरामद गरेको हो ।
बिशेष सुराकीको आधारमा गोलागन्जमा रहेको सशस्त्र प्रहरी बेस क्याम्पबाट खटिएको टोलीले रक्तचन्दन बरामद गरेको हो । पुर्व कर्णेल कुशवाहा अहिले काठमाडौंमा बस्दै आएका छन ।
रक्तचन्दनको तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले उचिडिह गाविस– ९ का ४८ वर्षीय परमानन्द प्रसाद जयसवाललाई पक्राउ गरेको छ । अरु तस्करहरु भने भाग्न सफल भएको सशस्त्र प्रहरीनिरीक्षक वीरभद्र नाथले बताए । पक्राउ परेका जयसवाल नेकपा– माओवादीका क्षेत्रीय इन्चार्ज हुन ।
रक्तचन्दन सहित पक्राउ परेका जयसवाललाइ जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ ।
यसैबीच रक्तचन्दन सशस्त्र प्रहरीले बरामद गरेको भएपनि जिल्ला प्रहरी कार्यालयद्वरा वितरित विज्ञप्तिमा रक्तचन्दन काठ इलाका प्रहरी कार्यालय सिम्रौनगढले बरामद गरेको उल्लेख छ । तर, गोलागन्जमा रहेको सशस्त्र प्रहरीका निरीक्षक वीरभद्र नाथले भने सशस्त्र प्रहरीले रक्तचन्दन बरामद गरी आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनढको जिम्मा लगाएको बताए ।
अली असगर, वीरगञ्ज
