समाचारसोमबार, फाल्गुण २१, २०६९
पारस बोल्न सक्ने भए
उनको स्वास्थ्यमा सुधार आएको र एमआरआई (मसिनद्वारा शरिरका भित्री अंगहरुको विस्तृत अवलोकन ) गरेपछि मात्रै थप उपचार गरिने अस्पताले जनाएको छ ।
२१ फागुन साँझ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विरामी पूरै होसमा छन र कुरा गर्न थालेका छन् । उनले आज विहान आफैंले पानी पिए ।”
केही दिनमा उनको एमआरआई र स्नायुसम्बन्धी अवस्था विस्तारमा जाँच गरिने पनि अस्पतालले जनाएको छ । जारी विज्ञप्तिमा पारसले लामो समयसम्म फिजियोथेरापी गर्नु पर्ने पनि उल्लेख छ ।
उनलाई ‘भेन्ट्रिकुलर फाइब्रिलेसन’ (मुटुका मांसपेशीहरुको अनियमित संकुचन जसले गर्दा मुटुले रक्त प्रवाह गर्न सक्दैन) बाट हृदयघात भएको र तत्कालै ‘सिपिआर सहित डिसी शक’ (श्वासप्रश्वास सहज पार्न छातीमा हात र करेन्टबाट दिइने दबाव) बाट ९० मिनेटपछि पुनर्जीवन दिन सकिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा थप भनिएको छ, “विरामीको मस्तिष्कमा अक्सिजनको कमीका कारण बेहोस भएकाले उनलाई भेन्टिलिटेरमा राखियो ।”
पारसको मुटुको धमनीमा रहेको अवरोध हटाउन बलुन एन्जियोप्लास्टी गरिएको र मस्तिष्क लगायत शरिरका अन्य अंगमा थप क्षति हुनबाट बचाउन हाइपोथर्मिक उपचार गरिएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।
दुई वर्षदेखि बैंककमा बस्दै आएका पारसलाई ८ फागुनमा हृदयघात भएपछि समितिभेज अस्पतालमा लगिएको थियो भने उनलाई २० फागुनबाट भेन्टिलेटर बाहिरै राखेर उपचार शुरु गरिएको थियो ।
पूर्व युवराज पारसले पाइपबाट खाना खाए
हृदयघात भएपछि बैंककस्थित अस्पतालमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
पूर्व युवराज पारस शाहलाई भेन्टिलेटरबाट बाहिर ल्याइएको र उनले आजदेखि पाइपबाट खानेकुरा खान शुरु गरेको चिकित्सकलाई उद्धृत गर्दै पारस शाहका स्वकीय सचिव फणिराज पाठकले हिमालखबरलाई जानकारी दिए ।
पाठकका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहले पनि छोरा पारस शाहलाई भेटेका छन् ।
दुई वर्षदेखि थाइल्याण्डको राजधानी बैंककमा बस्दै आएका पूर्व युवराज पारसलाई ८ फागुनमा हृदयघात भएपछि बेहोस अवस्थामा बैंककको समितिभेज सुकुम्भित अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको १२ औं दिनमा मात्रै उनको होस खुलेको थियो ।
अस्पतालले केही बेरमै पारसको स्वास्थ्य अवस्था बारे विज्ञप्ति जारी गर्ने पनि पाठकले जानकारी दिएका छन् ।
