समाचारमंगलबार, फाल्गुण २२, २०६९
सत्तारुढ फोरमद्वारा जनकपुरमा सवारी साधन तोडफोड
बन्दको अवज्ञा गरेको भन्दै गृहमन्त्री विजयकुमार गच्छदार नेतृत्वको मेधशी जनाधिकार फोरम लोकतान्त्रिकका कार्यकर्ताहरुले आज बिहान आधा दर्जन सवारी साधनमा तोडफोड गर्नुका साथै केही विद्यालयमा समेत तोडफोड गरेका छन् ।
आन्दोलनकारीले स्थानीय शिवचोकमा ज १ प १४७२ नम्बरको जिप, रामाचोकमा ज १ प ५६३ नम्बरको भ्यान, पिडारी चोकमा नम्बर नखुलेको एक ट्रयाक्टर र राजधानीबाट फर्केको एक रात्रिबस, मिल्स एरियामा भ्यान र भन्सार कार्यालयनजिक भारतीय नम्बरको एक जिपमा तोडफोड गरेका हुन् ।
यसैगरी उनीहरुले बिसहरा चोकमा रहेको रामजानकी कोचिङ सेन्टर, भानुचोकस्थित मिथिला मन्टेश्वरी विद्यालयमा समेत तोडफोड गरेका छन् ।
बन्दका कारण यातायात, विद्यालय, कलकारखाना, बैंक र सरकारी कार्यालयका साथै बजार पनि बन्द भएका कारण उपभोक्ता प्रभावित भएका छन् ।
फोरम लोकतान्त्रिकका स्थानीय नेता–कार्यकर्ताहरुको २० फागुनदेखि नै स्थानीय विकास अधिकारीसँग विवाद चलिरहेको थियो ।
यसैबीच २१ फागुनमा हुन लागेको धनुषा जिल्ला विकास समितिको जिल्ला परिषद बैठक शुरु हुनासाथ फोरम लोकतान्त्रिकका कार्यकर्ताहरुले हुल हुज्जत गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो भने परिषद बैठक स्थगित भएको थियो ।
“प्रजिअ र एलडीओमाथि हातपातको प्रयास गरिंदा प्रहरीले समान्य बल प्रयोग गरेको हो,” प्रहरी उपरीक्षक बसन्त कुमार पन्तले भने, “बल प्रयोग नगरेको भए अप्रिय घटना हुन सक्थ्यो ।”
इश्वरचन्द्र झा, जनकपुर
