समाचारबुधबार, फाल्गुण २३, २०६९
कतै बन्द फिर्ता, कतै तोडफोड
प्रधानन्यायाधिश खिलराज रेग्मीलाई सरकारको नेतृत्व दिने ठूला राजनीतिक दलको सहमतिका बिरुद्ध बन्दको आह्वान गरिएको नेकपा–माओवादीले जनाएको छ । बन्दमा नेकपा एकीकृत,मातृका यादव नेतृत्वको (नेकपा माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ,लिम्बुवान राज्यपरिषदको पनि समर्थन रहेको छ ।
उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा,प्रधानमन्त्रीको राजिनामा,जनसंविधान लगायतको माग गर्दै बन्दको आह्वान गरेको जनाएका छन् ।
यसैबीच,नुवाकोट,अर्घाखाँची,बैतडी र सुर्खेतमा बन्द फिर्ता भएको छ । यस्तै बन्दकर्ताले काभ्रेको बनेपामा राजधानी दैनिकको गाडीमाथि तोडफोड गरेका छन् ।
काभ्रेमा प्रेसकै गाडीमाथि ढुंगा प्रहार
बन्दका क्रममा विहानै काभ्रेको बनेपा स्थित चाँदनी चोकमा बन्दकर्ताहरुले राजधानी दैनिकको गाडीमाथि ढुंगा मुढा प्रहार गरेका छन् ।
त्यस्तै बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले बनेपाको गौतम मिठाई पसल र बा १८ प ९७९० नम्बरको मोटरसाइकलमा तोफडफोड गरेका छन् ।
दाङमा पनि तोडफोड
बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले दाङका बिभिन्न स्थानमा तोडफोड गरी क्षति पु¥याएका छन् ।
बन्दकर्ताहरुले नेपाल पत्रकार महासंघ दाङको बन्द सटरमा इँटा र ढुंगा प्रहार गरेका छन् । यस्तै घोराहीको बालविकास निमाविमा पनि तोडफोड गरेका छन् ।
२४ फागुनमा हुने विज्ञान प्रदर्शनीको तयारीका लागि कक्षा ८ का विद्यार्थीलाई बोलाएको र उनीहरु कक्षामा प्रवेश नगर्दै बन्दकर्ताको एक टोली पुगेर कक्षामा तोडफोड गरेको बिद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
यस्तै मोर्चाका कार्यत्रकर्ताहरुले घोराहीको गोरखा बोर्डिङ स्कुलको बसको सिसा फुटाईदिएका छन् भने बुटवलबाट तुल्सीपुर आउँदै गरेको ना २ ख ३०३४ नं. को ट्रकमा तोडफोड गरेका छन् ।
उनीहरुले घोराहीमा एउटा टिप्पर र ४ वटा मोटरसाईकलमा पनि क्षति पुर्याएको प्रहरीले बताएको छ ।
अर्घाखॉचीमा बन्द फिर्ता
नेकपा माओवादीकी प्रवक्ता पम्फा भुषालको गृहजिल्ला अर्घाखाँचीमा भने बन्द फिर्ता भएको छ । स्थानीय संघ सस्था र नागरिक समाजको आग्रहमा बन्द फिता लिएको गणतान्त्रिक मञ्च अर्घाखाँचीले जनाएको छ ।
जिल्लाका उद्योग धन्दा, यातायात, व्यापार व्यवसाय शैक्षिक संस्था सबै सञ्चालन गर्न मञ्चका संयोजक गुणानिधी भुसालले पत्रकार मार्फत सबैलाई आग्रह गरेका छन् ।
देश भर विभिन्न बाहानमा बन्द गर्ने होड चलिरहेका बेला अर्घाखाँचीमा बन्द फिर्ता भएपछि निर्णयको स्थानीयबासिन्दाले स्वागत गरेका छन् ।
बैतडीमा पनि बन्द खुल्यो, जिल्ला परिषद सुरु हुँदै
नेकपा माओवादी नेतृत्वको नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले गरेको बन्द खुलेपछि बैतडीको जनजीवन सामान्य बन्दे गएको छ ।
बन्द खुलेसँगै बिहानैदेखि रोकिएका सवारीका साधनहरु चल्न थालेका छन् भने बजारहरु पनि खुलेका छन् । आज जिल्ला परिषद रहेकाले बिहान ६ बजेदेखि साढे १० बजेसम्म मात्रै बन्द आह्वान गरिएको थियो ।
पर्यटन महोत्सवका लागि कञ्चनपुरमा बन्द फिर्ता
नेकपा–माओवादीको नेतृत्वमा २३ फागुनमा आह्वान गरिएको नेपाल बन्द कञ्चनपुर जिल्लामा लागु गरिएको छैन ।
कञ्चनपुरमा जारी ‘सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०६९’ लागि नेकपा–माओवादी कञ्चनपुरले बन्द फिर्ता लिएको हो ।
नेकपा–माओवादी कञ्चनपुरका इन्चार्ज डीडी पाण्डेयले देशव्यापी बन्द भएपनि जिल्लाभित्र यातायात तथा बजार सञ्चालन गर्न दिइएको बताए ।
‘‘उद्योग बाणिज्य संघको आग्रहमा जिल्लाभित्र यातायात र बजार क्षेत्र निर्वाध रुपमा सञ्चालन हुन दिने निर्णय गरेका छौं’’ इन्चार्ज पाण्डेयले बताए ।
बिहानैदेखि महेन्द्रनगर बजार खुला रहेको छ भने कञ्चनपुर जिल्ला भरी यातायात पनि सञ्चालन भइरहेको छ । शैक्षिक संस्था भने बन्द गरिएका छन् ।
सुर्खेतमा पनि फिर्ता
नेपाल सङ्घीय जनगणतान्त्रिक मोर्चाले सुर्खेत बन्द फिर्ता लिएको छ । सुर्खेतमा भइरहेको मेला र महोत्सवका कारण भन्दै मोर्चाले बन्द फिर्ता लिएको हो ।
सरकारको बर्खास्ती, राष्ट्रिय स्वाधीनताको रक्षा र सरकार गठनमा वैदेशिक हस्तक्षेपको विरोध गर्दै मोर्चाले गरेको नेपाल बन्दको प्रभाव सुर्खेतमा तीन घण्टा मात्रै प¥यो ।
नेकपा–माओवादीका सुर्खेत जिल्ला सेक्रेटरी ठम्मर विष्टले सुर्खेतमा भइरहेको दोस्रो घरेलु तथा साना उद्योग महोत्सव र धार्मिक महोत्सवलाई ध्यान दिँदै बन्द फिर्ता लिएको जानकारी दिए ।
उनले साङ्केतिकरुपमा बिहान ६ बजेदेखि ९ बजेसम्म बन्द गरिएको बताए ।




